पृथ्वी राजमार्गको पचासभन्दा धेरै ठाँउमा पहिरो
धादिङ- लगातार तीन दिनदेखि परेको वर्षाका कारण पृथ्वी राजमार्गको धेरै स्थानमा पहिरो गएको छ जसले गर्दा राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ ।
राजमार्गको पचासभन्दा धेरै ठाँउमा पहिरो खसेको छ । खासगरी राजमार्गमको गजुरीदेखि मौवा खोलासम्मको सडक क्षेत्र पहिरोको उच्च जोखिममा परेको हो ।
ठुला-साना पहिरो खसी हिजो दिभरि यातायात अबरुद्ध भएको थियो भने राजमार्गमा पहिरो खसेका कारण धेरै जसो स्थानहरुमा अझै सवारी एकातर्फि मात्र सञ्चालनमा छ ।
वर्षाका कारण सडक नराम्ररी विग्रिएको छ । राजमार्ग ठाँउ ठाँउमा भासिएको छ ।
सडकभन्दा माथिल्लो भागबाट खसेको पहिरोका कारण राजमार्गको सडक हिलाम्य भएको छ ।
दुई दिनदेखि पृथ्वी राजमार्ग भएर राजधानी लगायत देशका विभिन्न भागमा आवत जावत गर्ने मानिसहरुले यात्राका क्रममा पहिरोका कारण जोखिम र सास्ती खेप्नु परेको छ ।
सडक विग्रिएका कारण सवारीका साधनहरु दुर्घटनामा पर्न सक्ने खतरा पनि त्यतिकै बढेको छ ।
सडकमा ठुला ठुला खाल्टा खुल्टीहरु परेका छन् । जथाभावी खनिएका ग्रामीण सडकहरुका कारण वर्षाले बगाएर ल्याएको लेदो र सडक खन्ने क्रममा जमिन बिग्रिएको प्रविधिकहरुको भनाइ छ ।
राजमार्गबाट जथाभावी सहायक सडकको रुपमा खनिएका बाटोले राजमार्गमा खतरा उत्पन्न भएको भन्दै यस्ता काम रोक्न स्थानीयले आग्रह गरेका छन ।
बैरेनीदेखि जोगीमाराको जवाङ्गसम्म सडक क्षेत्रमा माथिबाट खसेको पहिरोले गर्दा सडक सबैभन्नदा नराम्ररी विग्रिएको छ ।
सडक वर्षाका कारण बन्द हुनासाथ खुलाउनका लागि सडक विभाग र जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले एकै स्थानमा दुई वटादेखि सात ओटासम्म पहिरो पन्छाउने मेशिनहरु तयारी अवस्थामा राखेको सडक विभागले जानकारी दिएको छ ।।
प्रतिक्रिया राख्नुहोस्