माओवादी महाधिवेशन पुसमा गर्ने प्रस्ताव
काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी पुस ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने भएको छ ।
शनिबारदेखि काठमाडौँको बत्तीसपुतलीमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा पुस ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्न प्रस्ताव गरिएको छ । दाहालको प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ ।
प्रतिवेदनमा भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने, असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला गर्ने प्रस्ताव गरिएको छ ।
माओवादी केन्द्रमा असोज २० गते वडा सम्मेलन, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन, मङ्सिर १५ गते प्रदेश सम्मेलन र
पुस ११ देखि १३ सम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ ।
समूहगत छलफलपछि आइतबार केन्द्रीय कमिटीले अन्तिम निर्णय लिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्