छठका लागि सरसफाइ र घाट बनाउने काम तीव्र

राजविराज- तराई मधेशवासीले लोक आस्थाको रुपमा मनाइने छठ पर्व मनाउनका लागि उत्साहपूवर्क जुटेका छन् । दसैँ तिहार समाप्तिसँगै अहिले उनीहरु विभिन्न ताल,तलाउ र जलाशयलाई सफा गरी पूजाघाट तयार गर्ने काममा व्यस्त भएका छन् । सप्तरी सदरमुकाम राजविराजस्थित कल्टु, पूर्णी, तुरन्ती, शिव, भगवतीलगायतका पोखरीमा अहिले सरसफाइ र घाट बनाउने काम तीव्ररुपमा अघि बढेको छ । छठ मनाउने भक्तजनलाई सहयोग हुने उद्देश्यले विगत एक सातादेखि राजविराज नगरपालिकाका सफाइकर्मी, नगरका जलाशयमा खटिएका छन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत निरन्जनप्रसाद यादवको अगुवाइमा नगरपालिकाभित्रका जलाशय सरसफाइमा एउटा टोली नै परिचालित भएका छन् । कतिपय जलाशय सफाइमा सेना र प्रहरीले पनि सघाइरहेको राजविराज–३ का श्याम रजकले बताउनुभयो ।

यस्तै जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सप्तकोसी नदीको कोसी ब्यारेजमा समेत घाट सजाउने काम भइरहेको छ । कञ्चनरुप नगरपालिकाको कञ्चनपुरमा समेत बिहानेदेखि पोखरी, ताल, नहरमा समेत छठको लागि घाट निर्माण भइरहेको स्थानीय राजकुमार पासवानले बताउनुभयो ।

हनुमाननगर कङ्कालिनी–२ स्थित सकरदहीको पश्चिमी नहरमा समेत छठको लागि नहरको डिलमा सफाइ र सजावटको काम भइरहेको स्थानीय लाल माझीले जानकारी दिनुभयो । छठ पर्व मनाउन स्थानीयवासी आवश्यक सामग्री किन्न रजविराजको हटिया बजारतर्फ समेत भीड लागेका छन् ।

यहाँका गाउँ, ग्रामीण हाटदेखि सहरमा छठको चहलपहल बढेको छ । बजारमा छठको सामान किन्नेको घुइँचो देखिएको छ । विगतभन्दा यस वर्ष बजार भाउ निकै बढेको स्थानीय भक्तजनको गुनासो पनि रहेको छ ।

यता छठ पर्व मनाउने जलाशय र पूजा घाटमा आवश्यक सुरक्षा व्यवस्थापनका लागि विशेष सुरक्षा तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेश सिंहले बताउनुभयो । जिल्लावासीलाई ढुक्क भएर छठ पर्व मनाउन विशेष सुरक्षा तयारी गरिएको उहँले जानकारी दिनुभयो । भीड व्यवस्थित र सर्वसाधारणको शान्ति सुरक्षाका लागि ठूलो सङ्ख्यामा सादा पोसाकका प्रहरीसमेत परिचालन हुने उहाँले बताउनुभयो ।

सूर्यको आराधना गरी मनाइने छठ पर्वअन्तर्गत यसपल्ट शुक्रबारदेखि नहाई खाय विधिबाट सुरु हुने पण्डित दुर्गानन्द मिश्रको भनाइ छ । दोस्रो दिन आज खरना, तेस्रो दिन आइतबार साँझ सन्ध्याकालीन अघ्र्य तथा चौथो दिन सोमबार बिहान सम्पूर्ण पुजन सामग्रीसहित उदाउँदो सूर्यलाई अघ्र्य दिने पण्डित मिश्रले बताउनुभयो ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने यो पर्व मनाउनेको सङ्ख्या प्रत्येक वर्ष वृद्धि भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.