साहित्यमा बीपी कोइराला

काठमाडौं : जननायक स्वर्गीय बिपी कोइरालालाई नेपाली जनताले नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्वका रुपमा स्मरण गर्दै आएका छन्। नेपाली राजनीतिमा मात्रै नभई साहित्यको क्षेत्रमा समेत उहाँ उत्तिकै स्मरणीय हुनुहुन्छ ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको आज ३८ औं स्मृति दिवस । १९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्मनु भएका बीपी कोइरालाले नेपाल र भारतमा विभिन्न समयमा भएका स्वतन्त्रताका आन्दोलनमा अर्थपूर्ण सहभागीता जनाउनुभएको थियो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति प्रतिबद्ध बिपीले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन आफ्नो जीवन राजनीतिक सङ्घर्षमै विताउनुभयो ।

२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरि नेपालमा राणाविरोधी आन्दोलनलाइ संस्थागत रुपमा अघि बढाउनमा समेत उहाँको ठूलो योगदान थियो। वी पी कै नेतृत्वमा २००७ सालमा क्रान्ति भै जहानीया राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना भएको थियो। २०१५ सालमा भएको आमनिर्वाचनमा नेपाली कांग्रेस दुईतिहाई बहुमत सहित विजयी भएपछि बीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । राजा-प्रजा समान हुनुपर्छ र मुलुकमा पूर्ण समाजवाद स्थापना हुनुपर्छ भन्ने मान्यता प्रधानमन्त्री बिपी कोइराला राख्नुहुन्थ्यो ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार र संसद समेत भङ्ग गरी वीपी कोइराला सहित प्रमुख नेताहरूलाई बन्दी बनाएपछि पुनः उहाँको जीवन देशमा प्रजातान्त्र पुनर्स्थापना गर्नमै केन्द्रित भयो।

उहाँले करिब १५ बर्ष जेलजीवन र आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो । उहाँले अघि सारेको राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वताउनुहुन्छ ।

घाँटीको क्यान्सर रोगबाट पीडित वीपीको ६८ वर्षको उमेरमा २०३९ साल साउन ६ गते निधन भयो। बिपी स्वदेश फर्किएपछि नेपालको राजनीतिले नयाँ मोड लिएको थियो । परिणामतः २०३७ सालमा राष्ट्रिय जनमत सङ्ग्रह, २०४२ सालमा नेपाली काँग्रेसद्वारा सत्याग्रह र २०४७ सालमा जनआन्दोलनबाट पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनर्स्थापना भएको थियो ।

स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि चर्चित हुनुहुन्छ । कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, हिटलर र यहूदी, सुम्निमा, मोदीआइन, श्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाई लगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.