बाढी पहिरोले दुई दिनमा १७ जनाको मृत्यु
काठमाडौं– बाढी पहिरोमा परी देशका विभिन्न भागमा विगत दुई दिनमा १७ जनाको मृत्यु भएको छ ।
काठमाडौंकै टोखामा हिजो २ जनाको मृत्यु भयो भने धादिङमा तीनजना, नवलपरासी पश्चिममा २ जनाको मृत्यु भएको छ । बाढी पहिरोले ४० भन्दा बढी जिल्लामा भौतिक क्षति पुर्याएको छ । देशका २२ वटा जिल्ला धेरै प्रभावित भएका छन् । ठाउँ ठाउँमा पहिरो जाँदा सयौं घरपरिवार विस्थापित भएका छन् । राजमार्गहरुमा पहिरो गएकाले सवारी आवागमन प्रभावित भएका छन् ।
गत जेठ ३० गते यता मनसुन सुरु पछि बाढी पहिरोमा परी १ सय ३१ जनाको मृत्यु भएको छ । ४९ जना बेपत्ता भएका छन् भने ५६ जना घाइते भएका छन् । बाढी पहिरो र डुवानमा परी कयौं विस्थापित भएका छन् ।
सबैभन्दा बढी क्षति पहिरोबाट भएको छ । अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलामा दुई वटा पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल मंगलबार राति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्