व्यक्तिले कब्जा गरेका जग्गामा पार्क निर्माण गर्छौं : मेयर शाक्य

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा–१८ मा पुष्पलाल स्मृति पार्क निर्माण भएको छ ।
वागमती प्रदेशको उद्योग, पर्यटन वातावण मन्त्रालय र काठमाडौं महानगरपालिकाको संयुक्त अनुदानमा सो स्थानमा पार्क निर्माण भएको हो । करिब एक करोडको लागतमा निर्माण भएको सो पार्कको नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभयो ।
उद्घाटनपछि सम्वोधन गर्दै नेपालले पुष्पलाको सम्झनामा उहाँकै ४० औँ स्मृति दिवसको अवसर पारेर पार्क उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउनुभयो । ‘विष्णुमति वारी पुष्पलालको सालिक सहितको पार्क निर्माण भयो, पारीपट्टी शोभागवतीमा गंगालालको सालिकसहितको पार्क छ,’ नेपालले भन्नुभयो, ‘नेपाली राजनीतिमा महत्वपूर्ण योगदान गरेका योद्धाहरुका सालिक वरीपरी देख्दा र इतिहासका पन्ना पल्टाउन पाउँदा मन आनन्दित हुन्छ ।’
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले व्यक्तिले कब्जा गरेका जग्गा फिर्ता लिएर पार्क हरियाली निर्माण गर्ने जानकारी दिनुभयो । विगतमामा सयौँ रोपनी जग्गा व्यक्तिले आफ्नो जग्गा भित्र पारेको र लालपूर्जा समेत लिएको स्मरण गराउँदै प्रमुख शाक्यले ती जग्गा फिर्ता लिएर पार्क निर्माणको कामलाई अघि बढाउँदै आएको बताउनुभयो । ‘धेरै ठाउँमा पार्क निर्माण भैसकेका छन् । धेरै ठाउँमा बन्ने प्रक्रियामा छन्,’ उहाँले भन्नुभयो, ‘धेरै वडाध्यक्षहरुले कतै अख्तियारमा त कतै अदालतमा मुद्धा खेपिरहनु भएको छ । तर, उहाँहरु दृढ हुनुहुन्छ । हामी टिमवर्कमा अघि बढेका छौँ । हामीले हाम्रो दायित्व विर्सिएका छैनौँ ।’
उहाँले जहाँ सार्वजनिक जग्गा छ त्यहाँ हरियाली प्रवर्द्धन गर्ने योजनाका साथ महानगरपालिका अघि बढेको बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्