पाल्पाको तिनाउँमा पहिरोले ३० घर उच्च जोखिममा
पाल्पा- पाल्पाको तिनाउ गाउँपालिकाकामा पहिरो जाने तथा जमिन भासिने भएपछि स्थानीय जोखिममा परेका छन् ।
गाउँपालिकाभित्रको अधिकांश भूभाग चुरेक्षेत्रमा पर्ने भएका कारण धेरै वर्षा हुने तथा कमजोर भूभाग भएको बस्तिमा जमिन भासिने तथा पहिरोको जोखिम बढेको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले बताउनुभयो ।
पछिल्लो एक सातादेखि निरन्तर पानी परेका कारण गाउँपालिका विभिन्न स्थानमा पहिरो जाने र जमिन भासिने क्रम बढेपछि स्थानीय जोखिममा परेका हुन् ।

पहिरोले वडा नं. १ को रानीबगिया झिंगामारा कचल मोटरबाटो र दोभान कचल मोटरबाटो अवरुद्ध भएको छ । वडा नं.को २ दोभान बजार र घौडेवास, पासाकुण्ठ र बुढासक वीचको मोटरबाटोमा समेत पहिरोले अवरुद्ध भएको छ ।
यस्तै पानीमिलदेखि श्रीडाँडा हुँदै अर्घाखाँची सिमेन्टको खानीमा जाने सडक समेत भासिएको हुँदा ३० भन्दा धेरै घरहरु पहिरोको उच्च जोखिममा रहेको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो ।
पहिरोको जोखिम रहेको क्षेत्रको अवलोकन गरेर गाउँपालिकाले स्थानीयलाई सुरक्षित स्थानमा बसोवास गर्न र सर्तक रहन आग्रह गरेको छ ।
उता झुम्सा चौकीभञ्ज्याङ्ग बैकल्पिक मार्ग, गिजिनचौर नुवाकोट मोटरबाटो,कोल्डाँडा विस्कुनडाँडा मरामकोट मोटरबाटो, मस्यामको चिदिस बेलडाँडा शिखरडाँडा मोटरबाटो समेत ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध भएको छ ।
पहिरोले कोसटोलको २ घर विस्थापित भएका छन् । पहिरोबाट विस्थापित भएका र उच्च जोखिम रहेका बस्तीमा पुगेर गाउँपालिकाले तत्कालका लागि त्रिपाल, जाली लगाएतका सामानहरु उपलव्ध गराएको र थप राहत र उद्धारका लागि समेत गाउँपालिका तयार रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत दामोदर भण्डारीले जानकारी दिनुभयो ।-






प्रतिक्रिया राख्नुहोस्