साउनको दोस्रो सोमबार पनि पशुपति नखुल्ने

काठमाडौं- साउनको दोस्रो सोमबार भोलि पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि नखुल्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू भएपछि देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने कार्यालय अझैसम्म पनि बन्द छ ।

अन्य क्षेत्रको बन्दाबन्दी खुला गरिएपनि सरकारले पछिल्लो पटक गरेको निर्णयमा मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने नै नीति लिएकाले मन्दिर नखोलिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।

साउनको पहिलो सोमबार ५ गते हजारौँ भक्तजनले पशुपति क्षेत्रका विभिन्न शिवालयमा पूजा आराधना गरेका थिए । मूल मन्दिरमा साउन महिनामा पनि दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गरेका थिए । उपत्यका एवं देशका अन्य शिवालयमा भने भक्तजनको भीड लागेको थियो ।

विश्व हिन्दू महासङ्घलगायत धार्मिक संस्थाले पनि विज्ञप्ति जारी गरी भौतिक दूरी कायम गरेर पशुपतिनाथ मन्दिरलगायत देशभरका मुख्य मन्दिर, गुम्बा, चैत्य खोल्ने व्यवस्था मिलाउन माग गरेका थिए ।

अन्य सबै क्षेत्र खुला भए पनि वैदिक सनातन धर्मावलम्बीले साउन महिनामा आस्थाका साथ पूजा आराधना गर्ने देशभरका शिवालय बन्द गरिएकामा ती संस्थाको आपत्ति थियो ।

पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि गर्नुभएका कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डन यसअघि भएका विभिन्न किसिमका महामारीका बेलामा पनि पशुपतिनाथको मूल ढोका बन्द नगरिएको बताउनुहुन्छ । भूकम्पलगायत प्राकृतिक प्रकोपका बेला भक्तजन आफैँ सतर्क भएर केही दिन मन्दिर नजाने क्रम विगतमा हुन्थ्यो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.