क्षमताभन्दा धेरै भार बोकेका भारतीय सवारी साधन प्रहरीको नियन्त्रणमा

कपिलबस्तु-  कोरोना भाइरस कोभिड- १९ का कारण गरिएको लकडाउन खुले लगत्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले चेकजाँचका क्रममा १२ वटा भारतीय सवारी साधन नियन्त्रणमा लिएको छ । लकडाउन खुले लगत्तै चेकजाचका क्रममा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका भारतीय सवारी साधनले क्षमता भन्दा अत्यधिक भार बोकेका थिए भने अन्य ६ सवारी साधनसँग कागजपत्र समेत नभएकाले नियन्त्रणमा लिइएको हो ।
१८ चक्के सवारी साधनको भार वहन क्षमता २९ टनमात्र भएपनि ती सवारी साधनले ५१ टन सम्म भार बोकेका थिए । राजन कुमार कनोडिया, ऋद्धी सिद्धी ट्रेडिंग कम्पनी कपिलवस्तुको नाममा भन्सार प्रज्ञापनपत्र मा ४०८.५ टन सामाग्री ढुवानी भएको छ भने ती सामाग्री ८ ट्रकबाट ढुवानी गरिएको छ । भार वहन क्षमता अनुसार ती सामाग्री ढुवानी गर्दा १३ वटा ट्रक प्रयोग गर्नुपर्नेमा ८ वटा मात्र प्रयोग गरिएको थियो ।
ओभर लोडका कारण पाँच सवारी साधन नेपाल भित्र छिर्दा आउने राजस्व समेत गुमेको छ । तर भारतीय सवारी साधनका सवारी चालकले कागजपत्र आफुहरुसँग नरहेको बताएका छन । उनीहरुसँग प्रतिलिपि समेत छैन । केही सवारी धनीले आफै राखेको र केही भारतीय प्रहरीले राखेको सवारी चालक बताउँछन । नेपालको कृष्णनगर नाका हुदै आउने यी माल बहाक ट्रकले सिमेन्ट उद्योगका कच्चा पदार्थ ढुवानी गर्दै आएका छन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक टक्कर स्वाँरले भने नियन्त्रणमा लिइएका ट्रकका भार कम गराई जरीवाना गरी छाड्ने बताउनु हुन्छ। क्षमता भन्दा बढी भएका सामाग्री अर्को सवारी साधनमा राखी पठाउनका लागि ट्रक चालक मार्फत सवारी धनीलाई अनुरोध समेत गरिएको छ तर सवारी धनी अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.