सधैँको सास्ती बन्यो साँफे-मार्तडी सडक
बाजुरा- छब्बीस वर्ष अगाडि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ मा शिलान्यास गरिएको साँफे-मार्तडी सडकखण्डको २२ वर्षपछि निर्माण सकिएको सडक सञ्चालनसँगै बाजुरावासीमा पलाएको खुशी धेरै नटिक्ने सङ्केत देखिएको छ ।
सडक निर्माण सम्पन्न भई सञ्चालन भएको दुई वर्ष नपुग्दै दर्जनौँ स्थानमा पहिरो जान थालेको छ । बूढीगङ्गा नदीले सडक नै कटान गरी सडकको निसानासमेत नदेखिने गरी सडक भासिएपछि दिगो सञ्चालनमा समस्या देखिएको छ । सडक कालोपत्रको काम सकिएको दुई वर्ष पनि पुगेको छैन ।
अझै अधिकांश स्थानमा कालोपत्र नै गरिएको छैन । कालोपत्र गरेकै वर्ष पनि पहिरोका कारण वर्षात्मा सडक अवरुद्ध बनेको थियो । दुई वर्षदेखि नै पहिरो जाने र सडक बन्द हुने शृङ्खला चलिरहेको छ । यो वर्ष पनि असार दोस्रो साताबाटै पहिरो बगेपछि सडक अवरुद्ध भएको हो । एक महिना बढी भइसक्यो, सडक पूर्णरूपमा बन्द भएको छ ।
बूढीगङ्गा नगरपालिका–२ अमकोटद्वारी क्षेत्र र ताप्रीसेराबाट बल्देसम्मको एक किलोमिटर सडकको निसाना नै मेटिने गरी ठूला–ठूला पहिरो खसेको र सामान्य मर्मत गरेर सडक सञ्चालन हुने अवस्थामा नरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो ।
ताप्रीसेराबाट अमकोटद्वारी क्षेत्रसम्मको करिब दुई किलोमिटर सडकमा यातायातका साधान नै सञ्चालन गर्न नमिल्ने गरी सडक भासिएको र सडक माथिबाट ठूला–ठूला पहिरो खसेर पूर्णरुपमा अवरुद्ध भएको छ ।
यतिबेला सो क्षेत्रमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली नै खटिएर मान्छेलाई सडकमाथि जङ्गल र अमकोटगाउँबाट आवतजावत गर्न भनिएको छ । अम्कोटको जङ्गल क्षेत्रलाई छिचोल्दै सर्वसाधारणले यात्रा गर्नुपर्ने बाध्यता रहेकाले तत्काल वैकल्पिक मार्ग खोजिने सुदूरपश्चिम प्रदेशका कानून तथा गृहमन्त्री प्रकाश शाहले भन्नुभएको छ ।
यता अमकोटवासी भने हरेक वर्ष सडकको वैकल्पिक मार्ग बनाउँदा बनाउँदै पूरै अमकोटगाउँ नै जोखिममा परिसकेको बताउने गरेका छन् । धेरैजसो भाग पहिरोले बगाइसकेको छ । तलबाट बूढीगङ्गा नदीले तीव्र कटान गरिरहेका कारण गाउँ नै असुरक्षित भएको छ । अब हामी यसै ठाउँमा सडक निर्माण गर्न नदिने स्थानीय नवराज पाध्याले बताउनुभएको छ ।
उहाँका अनुसार यदि वैकल्पिक मार्ग नै खोज्ने हो भने अमकोटगाउँको बीचबाटै लैजान अनुरोध गर्नुभएको छ । अहिले पहिरोले भासिएको सडक क्षेत्रमा खतराको चिह्न लगाएर प्रहरी परिचालन गरिएको छ । लगातार त्रिवेणी नगरपालिका क्षेत्रको पैंमाको पहिरो र बूढीगङ्गा नदीको कटानले त्यस क्षेत्रमा सडक नै उच्च जोखिममा परेको साँफे-मार्तडी सडक डिभिजन कार्यालय अछामका इञ्जीनियर दमनकुमार विष्टकोे भनाइ छ । सडक पहिरोले भासिएसँगै आवतजावत पूर्णरूपमा रोकिएको छ ।
यता बडिमालिका नगरपालिका क्षेत्रमा पर्ने पानीनाउलामा पनि सडक माथिबाट लगातार पहिरो बग्न थालेपछि ज्यान जोखिममा राखेर मानिसले यात्रा गर्नुपरेको बडिमालिका नगरपालिका-४ का वडाध्यक्ष सुरेन्द्र नाथले जानकारी दिनुभयो । आमकोटको द्वारी क्षेत्रबाट मार्तडीसम्मको करिब १४ किलोमिटर बाटोमा तीनवटा गाडी फेर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष नाथको भनाइ छ ।
मार्तडी आउने र मार्तडीबाट जाने सञ्जाल नै विच्छेद भएको छ । आवतजावत नै ठप्प भएको छ । पूरै सडक नै भासिएर बूढीगङ्गा नदीमा मिसिएर बगिसकेको छ । सडक कटानपछि नदीको धार परिवर्तन भएर बूढीगङ्गा नगरपालिको अमकोट बस्तीका साथै बडिमालिकाको पानीनाउला बस्ती पनि यतिबेला जोखिममा परेको छ । त्रिवेणीको पैंमाबाट आउने पहिरोले बूढीगङ्गा नदीलाई एक किनारा लगाएको छ ।
त्यसैको दबाबमा सडक क्षेत्रमा पहिरो गएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको भनाइ छ । सडक सञ्जाल विच्छेद हुँदा व्यापारीले खच्चर र मान्छेबाट महङ्गो भाडा तिररे सामान बोकाउनुपर्ने बाध्यता छ । गर्भवती महिला, बिरामीले यातायात नहुँदा स्वास्थ्य संस्था नपुगेरै जीवन बिताउनुपर्ने बाध्यता बाजुराका लागि नयाँ होइन, भगवान् भरोसामा बाँच्नु यहाँका जनताको वास्तविक पीडा भएको भन्नुहुन्छ नागरिक समाज बाजुराका तुलाराम जैशीको भनाइ छ ।
सडक शिलान्यासको २५ वर्षसम्म पनि बाजुरावासीले सास्ती भोग्दै आएका छन् । कुनै बर्खामा पनि ढुक्कसाथ सडक सञ्चालन भएको छैन । अछामको साँफेबगरबाट मार्तडीसम्मको ५७ किलोमिटर सडक निर्माणमै करिब रु पौने दुई अर्ब बजेट खर्च भइसकेको छ । पहाडी क्षेत्रमा प्रतिकिलोमिटर रु चार करोड बजेट कालोपत्रसम्म खर्च हुने गरेको छ ।
यति ठूलो मात्रामा खर्च गर्दा पनि जिल्लावासीले वर्षेनी सास्ती खेप्नु दुःखद् विषय बनेको छ । आवतजावत मात्र रोकिने नभई दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या भएको व्यापारीको भनाइ छ ।-
प्रतिक्रिया राख्नुहोस्