हिन्दुधर्मले अनिवार्य मानेको अधिकांश जनै तेस्रो मुलुकबाट आयात (भिडियो रिपोर्ट)
काठमाडौं- श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमालाइ तागाधारीहरुले विशेष किसिमले मनाउने गरेका छन् । हिन्दु समाजमा पुरुषहरुले विशेष मन्त्रोच्चारण सहित तयार पारिएको जनै धारण गर्ने गर्दछन् । तर हिन्दु धर्मले अनिवार्य मानेको अधिकांश जनै भने तेस्रो मुलुकबाट आयात हुने गरेको छ ।
नेपालको परम्पराअनुसार आफैंले जनै बनाउने एउटा तरिका यो पनि हो । संघीय राजधानी काठमाडौंमै अहिले पनि कतिपयले आफूलाई आवश्यक जनै आँफै बनाउने गर्छन् । आफैंले छानेको वा तयार पारेको कपासको वा सिमलको भुवाको धागोबाट जनै बनाएर वैदिक यज्ञबाट मन्त्रण गरेर रक्षासूत्रसंगै यज्ञोपवित बनाउने गरिन्छ ।
यसरी आँफै जनै निर्माण गर्नेहरु घटेका छन् भने जनै धारण गर्नेहरुको संख्या बढेको जनैको बिक्री बढेबाट पुष्टि भएको छ । पछिल्लो दशकमा जनै लगाउनेहरुको संख्या बढ्नुको यकिन कारण त पत्ता लागेको छैन तर पहिचानको राजनीतिको असर स्वरुप पनि विदेशबाटै आयात गर्नुपर्ने गरी जनैको प्रयोग बढेको अनुमान गरिन्छ ।
आदिकालमा महिलाले पनि यज्ञोपवित धारण गरेका भएपनि हाल त्यस्तो चलन छैन । जनैका ६ वटा डोराले तागाधारीहरुका ६ कर्तव्य- दान लिनेदिने, पढ्नेपढाउने र यज्ञ गर्ने गराउने सन्देश बोकेका हुन्छन् । सन्देश बुझेपनि नबुझेपनि जनै लगाउने मात्र नभई पूजापाठ र पितृभक्ति बढ्नाले त्यस्ता अनुष्ठान बढेका र अनुष्ठानहरुमा पनि प्रशस्त जनै आवश्यक पर्ने गरेको धर्मशास्त्रीहरुले बताएका छन् ।
जन्मदेखि मृत्युसम्मका हरेक कर्म गर्नुअघि र धारण गरेको ४ महिनामा जनै फेर्नै पर्छ भने जन्मदेखि मृत्युपछिसम्मका संस्कारहरुमा पनि जनै आवश्यक पर्दछ । यसरी मन्त्रण गरेको जनै लगाउनाले रोगव्याधी एवं खराव तत्वहरुबाट बच्न सकिने धार्मिक विश्वास छ भने जनै धारण गर्नेहरुको आत्मबल र संयम दुवै वृद्धि हुने ठानिन्छ ।
नेपालमा करीब २ करोड वटा जनै खपत हुने ब्यापारिक अनुमन छ । त्यसका लागि बार्षिक रुपमा २० करोड रुपैया भन्दा बढी खर्च हुने गर्दछ । करिब दुइ करोड थान जनै मध्ये ६० प्रतिशत जनै तेस्रो मुलुकबाट आयात हुने गरेको छ ।-
प्रतिक्रिया राख्नुहोस्