अब यी अस्पतालमा कोभिड-१९ को प्लाज्मा थेरापी विधिबाट उपचार

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमितको प्लाज्मा कन्भालेसेन्ट थेरापी विधिको उपचार गर्नका लागि १२ अस्पताललाई तोकेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले यस पद्धतिबाट कोभिड-१९ का गम्भीर अवस्थामा पुगेका सङ्क्रमितको उपचार गर्न र अनुसन्धान गर्नका लागि नौ सरकारी र तीन निजी अस्पताललाई स्वीकृत दिएको जानकारी दिनुभयो । कोभिड-१९ को गम्भीर अवस्थाका बिरामीलाई यस विधिबाट उपचार गरे बचाउन सकिन्छ ।

उहाँका अनुसार सरकारी अस्पतालमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल काभ्रे, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, नारायणी अस्पताल वीरगञ्ज, कोशी अस्पताल विराटनगर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, भेरी अस्पताल नेपालगञ्ज र सेती अस्पताल धनगढी रहेका छन् ।

यसैगरी निजी अस्पतालमा मेडिसिटी अस्पताल काठमाडौँ, ग्राण्डी अस्पताल र ह्याम्स अस्पताल रहेका छन् ।

अनुसन्धानमा संलग्न हुनका लागि प्रत्येक अस्पतालबाट एकजना फिजिसियन चिकित्सक र संयोजक तोकिएको छ । नेपालमा पहिलोपटक शिक्षण अस्पतालमा ६० वर्षका एक सङ्क्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ ।

यस विधिअनुसार कोभिड-१९ बाट सङ्क्रमणबाट पूर्ण रुपमा निको भएको व्यक्तिको रगतमा भएको प्लाज्मा गम्भीर अवस्थाका सङ्क्रमित व्यक्तिमा रगत हाल्ने गरिन्छ र त्यस प्लाज्मा सङ्क्रमित व्यक्तिमा एन्टिबडी बनाई भाइरसको सङ्क्रमण मार्दछ ।

“यो एक सम्भाव्य, अवलोकन क्लिनिकल अध्ययन हो, नोभेल कोरोना भाइरसको एन्टिबडी भएको कन्भालेसेन्ट प्लाज्मा कोभिड–१९ को उपचारका लागि हाल नेपालमा एक अविलम्ब विकल्पका रुपमा रहेको छ”, उहाँले भन्नुभयो, “युरोपियन युनियनको स्वास्थ्य र खाद्य सुरक्षा तथा अमेरिकाको खाद्य र औषधि प्रशासन मापदण्डभित्रले पनि कोभिड–१९ को उपचारका लागि यस थेरापीलाई एक तत्कालीन प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ ।”

नेपालमा यस विधिबाट उपचार सफल रहेकाले ती अस्पताललाई अनुमति दिइएको उहाँले बताउनुभयो । यो पद्धति कम जोखिमयुक्तका साथै प्रभावकारी हुने बताइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.