पार्क नै पार्कको सहर बन्दै धुलिखेल (फोटो फिचर)
५ वर्षमा ६५ वटा वातावरण मैत्री पार्क
काभ्रे– स्थानीय सरकार गठन भएलगत्तै धुलिखेल नगरपालिकाले पार्क निर्माण अभियानलाई प्राथमिकतामा राख्यो ।
खानेपानी, सडक, शिक्षा, स्वास्थ्य सँगसँगै पर्यटन पहिलो प्राथमिकतामा राख्दै पर्यटकहरुका लागि विभिन्न स्थानमा पार्क निर्माण गर्ने र बालबालिकाहरुका लागि बालमैत्री नगर घोषणा गरी १२ वटै वडामा प्रत्येक वर्ष १/१ वटाका दरले पाँच वर्षमा ६० वटा पार्क निर्माण गर्ने र नगर स्तरीय पार्क निर्माणको कार्य सुरु भएको छ । तीन वर्षमा नगर भित्र ३५ वटा पार्क निर्माण भईसकेका छन् ।
गत आर्थिक वर्ष भित्र ३५ वटा पार्क निर्माण सम्पन्न भएका छन् । नगर स्तरीय ५ वटा पार्क निर्माण सम्पन्न भएका छन् । नगरको अग्लो स्थान तथा पर्यटकहरुका लागि आर्कषक मानिएको काभ्रेकोट देविस्थान डाँडा धुलिखेल नगरपालिका वडा नम्वर ८ मा ४ करोड लागत इस्टमेटमा पार्क निर्माणको कार्य सकिएको छ ।
बुधबार रोटरी क्लवको समन्वयम उक्त क्षेत्रमा वृक्षाारोपण गरिएको छ । प्रदेश सरकारको समपुरक बजेटबाट १ करोड र नगरपालिकाको समेत गरी २ करोड रुपैया खर्च गरी उक्त स्थानमा ब्यवसायिक पार्क निर्माण भएको छ । केहि कार्य सम्पन्न भए पनि केहि कार्यहरु अझै बाँकी छ । बनभोज तथा अन्य समयमा आनन्द लिन उक्त पार्क सर्वसाधारणका लागि उपलब्ध भएको छ । देविस्थान पार्कसँगै बलभद्र कुँवरको शालिक सहितको पार्क निर्माण गरिएको छ । उक्त पार्कमा पनि विहिबार नै बृक्षारोपण गरिएको छ ।
‘पर्यटकहरुको आगमन भईरहने स्थानहरुमा विश्रामस्थल, शहरको हरियाली संरक्षण र बृद्धी, खुल्ला क्षेत्रको अवधारणा, विपदमा आश्रय लिने स्थान तथा अन्य थुप्रै उदेश्यले पार्क निर्माण गरिएको हो,’ ग्रिनरीका लागि मात्रै नगरपालिकाले प्रति एक घर दुई बोट विरुवा अनिवार्य गरेको छ । चालु वर्षमा ८० हजार विरुवा वितरण गरिने नगर प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो ।
वडा स्तरीय र नगर स्तरीय पार्कले नगरको सुन्दरतामा बृद्धी गरेको छ । ‘धुलिखेलको सरस्वती बजारमा निर्माण भएको पार्कले सहरको सुन्दरता मात्रै नभई आन्तरिक र बाह्य पर्यटकहरुका लागि आनन्दको विश्रामस्थल दिएको छ’–धुलिखेलका आनन्द श्रेष्ठले भने ।
सरस्वती पार्कलाई नगरपालिकाले पहिलो चरणमा २२ लाख रुपैया खर्च गरेको छ भने स्थानीयहरुले २० प्रतिशत रकम थप गरी २६ लाख ४० हजार रुपैयाँ खर्च गरिएको छ । पार्कमा सरस्वतीको शालिक राखिनेछ । स्टिल रेलिङ्ग, वाल, पार्टेसन सहितका दुबो, बत्ति, कुर्सि, फ्लाग स्टोन, गार्डेन तथा एकै पटक ३० जना भन्दा धेरै अट्न सक्ने गरी ब्यवस्थापन गरिएको छ । साँझ र खाना खाए पछि विश्राम लिन स्थानीयहरुको पार्कमा घुईचो लाग्ने गरेको छ भने दिउँसोको समयमा विभिन्न कार्यालयमा काम लिएर आएका ब्यक्तिहरुले पनि त्यहि पार्कमा आश्रय लिन थालेका छन् ।
चालु वर्षमा सबै वडा र बनिसकेका वडाहरुमा टोलमा समेत पार्क विस्तार गरिने लक्ष्य राखिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । धुलिखेलको सिङ्गो नगरलाई बालमैत्री नगरका रुपमा अगाडी बढाउन रकम विनियोजन गरिएको छ । बालमैत्री नगर घोषणा पुर्व घर घरमा बालबालिकाहरुको अवस्था, शौचालयको प्रयोग तथा बालबालिकाको प्रयोग, उनीहरुले प्रयोग गर्ने धारा पानी, विद्यालयको अवस्था समेतका बारेमा अभिलेख शुरु गरिएको छ ।
बच्चा जन्मने वितिक्कै धुलिखेल अस्पतालको समन्वयमा दुई जोर कपडा र पौष्टिक आहार सहितको खाना वितरण गरिएको छ भने सुत्केरी तथा गर्भवती आमालाई नगरपालिकाले पौस्टिक आहार र नियमित जाँचका लागि प्रोत्साहन हुने कार्यक्रम ल्याएको छ । नगर भित्र बालश्रम मुक्त, सडक बालबालिकाहरुको अन्त्य गरी घरै घर भएको सहरी क्षेत्रमा सुन्दरताले भरिएका पार्कहरुको निर्माण गरी नगरको सुन्दरता सहितको वातावरणले जनजीवन सहज बनाउने उदेश्य रहेको नगर प्रमुख ब्याञ्जुले बताए । धुलिखेलका ६ वटा वडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालमैत्री वडा घोषणा गर्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्