सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

सोलुखुम्बु- सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको छ । दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको हुनसक्ने प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिनुभयो ।

आज बिहानैदेखि सोलुखोलामा पानीको बहाव उच्च देखिएपछि दूधकुण्ड पोखरी या अन्य कुनै पोखरी फुटेको हुन सक्ने अनुमान गरिँदै आएको थियो । दूधकुण्ड क्षेत्रमा रहनुभएका फुछिरिङ शेर्पाले चोकर्म फुटेर तीन भागमध्ये एक भाग पानी बगिसकेको हुनसक्ने बताउनुभयो ।

सो पोखरी पूर्णरुपमा फुट्ने खतरा भने उच्च रहेको उहाँको भनाइ छ । पोखरीको अन्य वरिपरिको भाग चिराचिरा परिसकेको भन्दै नदी किनारका स्थानीयवासीले उच्च सतर्कता अपनाउनुपर्ने उहाँको सुझाव छ ।

दूधकुण्ड क्षेत्रमा चौंरी गोठमा रहनुभएका लाक्पा लामाका अनुसार चोकर्म पोखरी फुटेर आएको पानी चोतारे पोखरीमा आउँदा खोलामा पानीको बहाव कम भएको बताउनुभयो । चोतारे पोखरी नभएको भए जनधनको क्षति हुनसक्ने उहाँको भनाइ छ ।

सांसदको टोलीले स्थलगत अध्ययन गर्ने

सोलुखुम्बु प्रदेशसभा (ख) का सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मौसम खुलेको अवस्थामा आइतबार हेलिकोप्टरमार्फत स्थलगत अध्ययनमा जाने बताउनुभयो ।

पोखरी फुटेको खबरले त्रास फैलिएको भन्दै वास्तविकता अध्ययन गरी थप तयारी गरिने उहाँको भनाइ छ । शुक्रबार पनि स्थलगत अध्ययन गर्ने योजना बनाए पनि मौसमका कारण असफल भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिनुभयो ।

सल्लेरी सदरकामदेखि ३० कोष उत्तरपूर्व क्षेत्रमा पर्ने दूधकुण्ड क्षेत्र पुग्नका लागि दुई दिन लाग्छ । सोलु दूधकुण्ड नगरपालिका–१ मा पर्ने दूधकुण्ड क्षेत्रमा करिब दर्जन बढी साना–ठूला ताल रहेको बताइन्छ । –

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.