दम्पती हत्या गर्ने चार अभियुक्त सार्वजनिक

कञ्चनपुर- नौ दिनअघि कञ्चनपुरको बेलौरी नगरपालिकामा वृद्ध दम्पतीको हत्या गर्ने गिरोहका नाइकेसहित चार जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । गत साउन १७ गते मध्यरातमा बेलौरी नगरपालिका–७ भगतपुरका ६८ वर्षीया बेलीदेवी खातीको धारिलो हतियार प्रयोग गरी घरमै अज्ञात समूहले हत्या गरेको थियो भने सोही आक्रमणका क्रममा बेलीदेवीका श्रीमान् ७० वर्षीय घनश्याम खाती गम्भीर घाइते भएका थिए ।

घाइते खातीको आइतबार राति कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्याका मुख्य योजनाकार खाती दम्पतीकै छिमेकी स्थानीय ५३ वर्षीय प्रकाश ऐर, अर्का स्थानीय ३५ वर्षीय दिनेश राना, बेलौरी नगरपालिका–६ हात्तीबोझाका २६ वर्षीय होरी राना र कृष्णपुर नगरपालिका–२ वाणीका ४५ वर्षीय रवि राना (भर्रा) लाई सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता थापाले घटना छिमेकी प्रकाश ऐरको योजनामा भएको बताउनुभयो । “ऐरले झण्डै १४-१५ वर्षदेखि घनश्याम खातीलाई बोक्सीको आरोप लगाउँदै आएको रहेछ” थापाले भन्नुभयो, “ऐरले नै हत्याको योजना बनाएर दम्पतीको हत्यापछि दुई चरणमा रु चार लाख रकमसमेत दिएको खुलेको छ ।” अभियुक्त ऐरको योजनालाई मुख्य रुपमा भर्रा भनेर चिनिने रवि रानाले सहयोग गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

घटनामा अभियुक्त रवि राना धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने, स्थानीय दिनेश र होरी राना घटनाका बेला खातीका छोरा राजेश खातीलाई घर बाहिर मादक पदार्थ सेवन गराएर फकाउने भूमिकामा देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अभियुक्तहरुले छोरा राजेशलाई नै हत्यारा सावित गराउने प्रयासले नै राति मोटरसाइकलमा घरसम्म पुर्‍याएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

खातीको घरमा पुगेर दम्पतीमाथि आक्रमण गर्ने अभियुक्त रवि रानालाई प्रहरीले आइतबार कृष्णपुर नगरपालिकाको गुलरिया क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार अभियुक्तद्वय स्थानीय दिनेश र होरी रानालाई हत्यामा संलग्न भएबापत रु २५ -२५ हजार दिने भनिएको थियो । अभियुक्त दिनेश शारीरिक रुपले अशक्त छन् । उनको दायाँ हात छैन । प्रहरी स्रोतका अनुसार राना एउटै हातले मोटरसाइकल चलाएर भारतबाट आउने अवैध सामानको तस्करीसमेत गर्दै आएका थिए । “रानाले मोटरसाइकलको एक्सलेटरसमेत बाँया हातमा जडान गरेको देखिन्छ ।

प्रहरीका अनुसार खाती दम्पतीलाई हत्यापछि उनका छोरालाई घरसम्म मोटरसाइकलमा पुर्‍याउन दिनेश नै गएका थिए । प्रहरीले राजेश खातीले गत साउन १९ गते दिएको किटानी जाहेरीका आधारमा अभियुक्तहरुलाई कानूनी कारबाही अघि बढाइएको जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.