नियन्त्रण भइसकेकै ठाउँमा संक्रमण दोहोरिनु चिन्ताजनकः स्वास्थ्य मन्त्री

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नियन्त्रण भइसकेका ठाउँमा कोरोना भाइरस (कोभिड १९) दोहोरिनु चिन्ताजनक भएको बताउनुभएको छ ।

परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको ६१ औं वाषिर्कोत्सवका अवसरमा राजधानीमा मंगलबार भएको कार्यक्रममा मन्त्री ढकालले नेपालमा संक्रमण दोहोरिने समस्या अन्य मुलुकको भन्दा फरक भएको बताउनुभयो । ‘विश्वका अन्य मुलुकमा संक्रमण रोकथाम भएपछि कम भएको छ,’ उहाँले भन्नुभयो, ‘नेपालमा भने विगतमा संक्रमण देखिएर नियन्त्रणमा आएकै ठाउँमा फेरि दोहोरिएको छ ।’

वीरगन्ज, नेपालगन्ज, विराटनगर, उदयपुरलगायतका ठाउँमा संक्रमण झन् भयावह हुँदै जानु चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।

साउन २५ देखि भदौ १५ गतेसम्म ३९ हजार संक्रमित हुने विज्ञहरुले प्रक्षेपण गरेको स्मरण गर्दै मन्त्री ढकालले तर सरकारको प्रयासले एक तिहाई घटाउन सफल भएको दाबी गर्नुभयो । जेठ २५ गते विज्ञहरुले तीब्र संक्रमण भए ९१ हजार र मध्यम भए ३९ हजार संक्रमित हुने प्रक्षेपण गरेका थिए ।

एकैदिन १० हजार ७ सय ८३ जनाको पीसीआर परीक्षण गर्दा २ सय २४ जनाको पोजेटिभ केस आएको तथ्यांक प्रस्तुत गर्दै मन्त्री ढकालले असार १९ गते ४ हजार ४ सय ८३ जनाको परीक्षण गर्दा ७ सय ४० पोजेटिभ देखिएकाले बढी परीक्षण गर्दा धेरै पोजेटिभ केस आउने भनाइ तथ्यसंगत नभएको जिकिर गर्नुभयो ।

स्वास्थ्यमा बेथिति गरेर हुर्किएकाहरु नेपालको स्वास्थ्य क्षेत्र माथि नउठोस् भन्ने कामना गरेर बसेको मन्त्री ढकालको आरोप थियो । ‘महामारीको सिरान राखेर कतिपयले आनन्द मान्नुभएको छ भन्ने कुरो मैले हेक्का गरेरै बसेको छु,’ उहाँको भनाइ थियो, ‘स्वास्थ्य क्षेत्र सुध्रिएला कि भन्ने उहाँहरुलाई चिन्ता छ, बेथितिभित्र रमाउन चाहनेहरु त्यसलाई स्वर्ग मानेर बसेका छन् ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.