सामान्य बन्दै गइरहेको कोरोना संक्रमण युरोपेली मुलुकहरुमा पुनः बढ्न थाल्यो

काठमाडौं- कोरोना भाइरसको संक्रमणको त्रासबाट विस्तारै जनजीवन सामान्य बनाइरहेका युरोपेली मुलुकहरुमा पुनः संक्रमण बढ्न थालेको छ ।
जर्मनीमा तीन महिनाभन्दा लामो समयपछि अहिलेसम्मकै दैनिक उच्च संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा जर्मनीमा १२ सयभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार विदा मनाउन गएकाहरु फर्किएसँगै संक्रमणको दर बढेको हो । जर्मनीले स्पेनको कुनै पनि भागमा अनावश्यक यात्रा नगर्न सचेत गराएको छ ।
यसैगरी फ्रान्समा पछिल्लो २४ घन्टामा मात्रै २ हजार ५ सयभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । यो संख्या गत मे महिनामा लकडाउन खुकुलो गरेयताकै सबैभन्दा धेरै हो । स्पेनको राजधानी म्याड्रिड तथा बस्क क्षेत्रमा उच्च संक्रमण देखिएपछि जर्मनीको परराष्ट्र मन्त्रालयले ती स्थानमा जान सचेत गराएको छ ।
जर्मनीमा हालसम्म कोरोना संक्रमणका कारण ९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । स्पेनले फेरि कोरोना भाइरस संक्रमणको खराब अवस्थाको सामना गरिरहेको छ । स्पेनमा दैनिक १४ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । स्पेनमा हालसम्म ३ लाख २६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
संक्रमण बढ्न थालेपछि ब्रसेल्सले पनि बुधबारदेखि सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिनएको छ । १२ वर्षभन्दा बढी उमेरका सबैलाई घर बाहिर निस्कँदा मास्क अनिवार्य गरिएको हो ।-






प्रतिक्रिया राख्नुहोस्