नेकपा विवाद मिलाउन कार्यदल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद मिलाउन पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेको छ ।

कार्यदलमा पौडेलसहित भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भूसाल सदस्य छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बिहान बसेको बैठकले कार्यदलमार्फत विवाद समाधानको उपाय खोज्ने निर्णय भएको नेकपा प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार कार्यदललाई तीन जिम्मेवारी दिइएको छ । ‘आन्तरिक समस्याको सकारात्मक समाधान खोज्ने, एकतालाई अक्षुण राख्दै नेपाली जनताको जनादेशअनुसार प्रभावकारीरुपमा अगाडि बढ्न कार्यदलले ठोस प्रस्ताव गर्नेछ,’ उहाँले भन्नुभयो ।

स्थायी कमिटीको बैठक सुचारु गर्ने विषयमा मतभेद भएपछि रोकिएको नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बिहीबारदेखि पुनः छलफल प्रारम्भ भएको थियो ।

स्थायी कमिटी बैठक स्थगित भएको ९ दिन पछाडि प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र दाहालबीच बालुवाटारमा दुई घण्टा छलफल भएको थियो ।

एक अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले बिहीबार पछाडिका पाँच दिनभित्रै सहमति हुने विश्वास दिलाउनुभएको थियो ।

दुई अध्यक्षबीच गत साउन १८, १९ र २० गते वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको उपस्थितिमा बैठक बसेको थियो । तर, दुवै पक्ष अडानमा कायम रहेकाले सहमति हुन सकेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.