प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

काठमाडौं- नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफल गर्न सहमति भएको हो ।

प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग शनिबार अपराह्न टेलिफोनमा कुराकानी गर्नुभएको र उहाँहरु भविष्यमा द्विपक्षीय विषयका छलफललाई निरन्तरता दिन सहमत हुनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले गत चैत २८ गते प्रधानमन्त्री मोदीसँग भएको कुराकानीको स्मरण गर्दै भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा उहाँलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र स्वयम् आफ्नातर्फबाट प्रधानमन्त्री मोदी र उहाँमार्फत भारत सरकार र जनतामा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले भारतका जनताको निरन्तर प्रगति र समृद्धिको शुभेच्छा पनि प्रकट गर्नुभयो ।

कुराकानीका क्रममा दुवै देशका प्रधानमन्त्रीले कोभिड-१९ विरुद्ध गरिएका पछिल्ला प्रयासबारे विचार आदानप्रदान गर्नुका साथै कोरोना महामारीको नियन्त्रणमा मिलेर काम गर्न सहमत हुनभएको छ । कोभिड-१९ को महामारीबाट नेपाली जनतालाई जोगाउन तथा त्यसविरुद्ध नेपाल सरकारले गरेका प्रयासबारे जानकारी गराउनुभएको थियो ।

यसैगरी प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत निर्वाचित भएकामा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई ज्ञापन गर्नुका साथै सो निकायको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न भारतलाई सफलता प्राप्त होस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रायलले जनाएको छ।

यसअघि शनिबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट पनि गर्नुहुँदै भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.