आयात निर्यात ठप्प
सिन्धुपाल्चोक- बाढीपहिरोले अरनिको राजमार्गको बाह्रबिसे-तातोपानी सडक अवरुद्ध भएपछि तातोपानी भन्सार यार्डमा रहेका मालबाहाक कन्टेनर रोकिनुका साथै आयात निर्यात ठप्प भएको छ ।
व्यापारिक तथा औषधिजन्य सामग्रीका १५-२० वटा मालबाहाक कन्टेनर लामो समयदेखि सुख्खा बन्दरगाहमै रोकिएको भन्सार कार्यालयले जनाएको छ ।
कोभिड-१९ सङ्क्रमण रोकथामको लागि चीनको न्यालम जिल्लाले छिमेकी जिल्ला सिन्धुपाल्चोकलाई सहयोगस्वरुप हस्तान्तरण गरिएका औषधिजन्य सामग्री भन्सारमै रोकिएका छन् ।
गत असार २४ गतेको बाढीपहिरोले बाह्रबिसेदेखि तातोपानी को २६ किलोमिटर खण्डमा पर्ने दर्जनौं ठाउँमा क्षति पुर्याएको थियो । सोही समयमा पनि चिनियाँ भू-भागमा पनि ठाउँठाउँमा सडक बिग्रनुका साथै तिब्बत्को न्यालम जिल्लामा अवस्थित क्यारुङ च्छो ताल फुट्ने सम्भावना देखिएपछि चीनबाट सामान पठाउन बन्द गरिएको थियो । साथै मितेरी पुलमा कार्यरत सबै चिनियाँ कर्मचारी पनि उठेर गइसकेको भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बाढीपहिरो बन्द भएको उक्त सडक मर्मतपछि यही साउन १८ गतेदेखि सञ्चालनमा आए पनि पुनः अवरुद्ध भएको छ । हाल उक्त खण्डको डाक्लाङ र बुलकोटेमा सडक भास्सिएको छ । डाक्लाङमा करिब ३०० मिटर सडक पहिरोले बगाएको हुँदा दैनिक उपकरण लगाएर सफा गरे पनि पुनःबगाउने सडक डिभिजन कार्यालय दोलखाका प्रमुख डिई विजयकुमार महतोले बताउनुभयो ।-
प्रतिक्रिया राख्नुहोस्