मास्क लगाउन अनिवार्य गरिएको भन्दै स्पेनमा विरोध प्रदर्शन, पिसिआर टेष्ट बन्द गर्न माग
काठमाडौं- अनिवार्य रुपमा मास्क लगाउनुपर्ने लगायत कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लगाइएका प्रतिबन्धको विरोधमा स्पेनको राजधानी म्याड्रिडमा प्रदर्शन गरिएको छ ।
प्रदर्शनकारीहरुले मास्क नलगाई कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरु हटाउनु पर्ने माग गरेका छन् । पिसिआर बन्द गर्नुपर्ने, महामारीको अन्त्य हुनुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सर्वसाधारण सडकमा उत्रिएका हुन् ।
गत मे महिनामा नै स्पेनले सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने व्यवस्था गरेको थियो । पछि त्यसलाई विस्तार गरेर देशैभरी घर बाहिर निस्कदा मास्क लगाउन अनिवार्य गरियो ।
सरकारले कोरोना नियन्त्रणका लागि सार्वजनिक स्थलमा धुमपान गर्न निषेध गरेको दुई दिनपछि आन्दोलन भएको हो । स्प्नले जुन महिनाको अन्त्यदेखि तीन महिना लकडाउन गरेर संक्रमण नियन्त्रणमा ल्याएको थियो ।
तर पछिल्लो समय संक्रमण पुनः देखिन थालेपछि प्रतिबन्धहरु कडाईका साथ पालना गर्न लगाइएको हो । स्पेनमा हालसम्म कोरोना संक्रमणका कारण २८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
विश्वमा कोरोनाबाट बढी प्रभावित अमेरिका र ब्राजिलमा भने पछिल्लो २४ घन्टामा संक्रमण निकै घटेको छ । दैनिक ५० हजारभन्दा बढी संक्रमण हुने यी देशमा अमेरिकामा दैनिक संक्रमण ३५ हजारमा झरेको छ भने ब्राजिलमा २२ हजारमा झरेको छ ।
अर्को बढी प्रभावित मुलुक भारतमा भने पछिल्लो २४ घन्टामा ५८ हजारभन्दा बढी संक्रमित भएका छन् । यो सँगै विश्वमा कुल संक्रमितको संख्या ५५ लाख ६५ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ७ लाख ७२ हजार नाघेको छ ।-
प्रतिक्रिया राख्नुहोस्