सुनसान बन्दै राजमार्ग

काभ्रे- कोरोना संक्रमण बढ्दै गएपछि देशकै प्रमुख राजमार्ग बीपी र अरनिको राजमार्ग सुनसान बन्दै गएको छ ।
दैनिक हजारौं सवारी साधन गुड्ने यि राजमार्गमा देशैभरि संक्रमण बढ्दै गएपछि सुनसान बनेको हो । अहिले सडकमा अति आवश्यकीय सवारी साधन बाहेकका अरु सवारी साधन कम नै गुड्ने गरेको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख विशाल तामाङले जानकारी दिनुभयो । काभ्रेका प्रायजसो स्थानीय तहहरुले पनि अति आवश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गरेपछि सवारी साधनको चाप कम भएको ट्राफिकको भनाइ छ ।
काभ्रे प्रवेश गर्ने विपी राजमार्गको मंगलटार र अरनिको राजमार्गको दोलालघाटमा चेकजाँचमा कडाइ गरिएको राजमार्गमा खटिने प्रहरीको भनाइ छ । काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाका साँगाबाट हाल अघिपछिको भन्दा अति आवश्यकीय ४० प्रतिशत सवारी साधन उपत्यका प्रवेश गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
गृहमन्त्रालयले जोर दिनमा जोर तथा बिजोर दिनमा बिजोर सवारी साधन सञ्चालन गर्ने निर्णय गरेसँगै सवारीको चाप घट्दै जाने क्रममा अघिपछि सञ्चालन हुनेभन्दा ६० प्रतिशत सवारीको चाप घटेको ट्राफिक प्रमुख तामाङले जानकारी दिनुभयो ।
सवारी साधन सञ्चालन कमी आएपछि काभ्रेका प्रमुख बजारमा भीडसमेत कम हुँदै गएको छ । कोरोना नियन्त्रणमा स्थानीय सरकारले सक्रिय सहभागिता देखाएसँगै काभ्रे जिल्लाका मुख्य सहरहरूमा भीडभाड कम भएको हो ।






प्रतिक्रिया राख्नुहोस्