प्रधानमन्त्रीद्वारा संवैधानिक नियुक्तिबारे अध्यक्ष दाहाल र सभापति देउवासँग छलफल
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोग लगायत रिक्त पदमा नियुक्ति गर्ने सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवासंँग छलफल गर्नु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संवैधानिक आयोग र विश्वविद्यालयमा रिक्त पदको नियुक्ति, कोरोना भाइरस (कोभिड–१९) र बाढीपहिरोलगायत समसामयिक विषयमा कुराकानी भएको थियो । संवैधानिक आयोगका रिक्त पदमा समझदारीअनुसार चाँडै नियुक्त गर्ने विषयमा सहमति भएको छलफलमा सहभागी नेकपाका नेता सुवास नेम्बाङले जानकारी दिनुभयो ।
“विभिन्न संवैधानिक आयोगका पद रिक्त रहेका छन् । रिक्त पद खाली राख्नु हुँदैन भन्नेबार उहाँहरुबीच छलफल भयो”, नेकपा संसदीय दलका उपनेता नेम्वाङले भन्नुभयो, “ रिक्त पदमा चाँडै आपसी समझदारीअनुसार नियुक्ति गरेर पूर्णता दिने विषयमा छलफल भयो । चाँडै ती रिक्त पदमा पदपूर्ति हुन्छ ।”
अहिले अख्तियार दुरुपयोग अनुसन्धान, निर्वाचन, महिला, थारु आयोगलगायत अधिकांश आयोगमा पदाधिकारी रिक्त छन् । यस्तै उहाँहरुबीच विभिन्न विश्वविद्यालयमा रिक्त पदमा नियुक्ति तथा ती विश्वविद्यालयमा भइरहेको तालाबन्दी र आन्दोलनबारे पनि छलफल भएको बताइएको छ ।
यस्तै महामारीका रुपमा रहेको कोभिड–१९ को रोकथाम र नियन्त्रण तथा देशभरि बाढीपहिराले पुर्याएको क्षति र त्यसबाट जोगाउने उपायबारे पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।
संवादबाट सहमतिमा पुग्न आग्रह कांग्रेस सभापति देउवाले सार्वजनिक जरुरी महत्वका विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको जनाइएको छ । सभापति देउवाले सिन्धुपाल्चोकको लिदीमा पहिरो जानु १० दिनअघि स्थानीयवासीले गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्याएको भनी आलोचना गर्दै सोको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन भनी प्रश्न गर्नुभएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँले मुलुकका विभिन्न भागमा बाढीपहिराबाट भएको जनधनको क्षति न्यूनीकरणका लागि व्यवस्थित र प्रभावकारी ढङ्गले कार्य गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको मुख्यसचिव पौडेलले बताउनुभयो
प्रतिक्रिया राख्नुहोस्