काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा भोलि औँसीका दिन मेला नलाग्ने

काठमाडौं-   गोकर्णेश्वर नगरपालिकाले वडा नं –४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा भाद्र कृष्ण औँसीका दिन मेला नलाग्ने भएको छ ।

बाबुको मुख हेर्ने दिन यही भाद्र ३ गते बुधबार मन्दिरमा लाग्ने मेला यसवर्ष स्थगित गर्ने निर्णय नगरपालिकाले गरेको हो । नगर कार्यपालिकाको सोमबारको बैठकले उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मन्दिरमा लाग्ने धार्मिक मेला नगर्न नगराउन आह्वान गरिएको नगर प्रमुख सन्तोष चालिसेले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाको महामारीका बेला घरघरमै सुरक्षित बसेर पितृप्रति सम्मान गर्न पनि नगरपालिकाले आह्वान गरेको छ ।नगरपालिकाको निर्णयअनुसार आज बिहानैदेखि गोकर्णेश्वर मन्दिर छिर्ने सबै नाकामा प्रहरी राखेर धार्मिक गतिविधि गर्ने गरी जान नपाउने व्यवस्था गरिएको वडा नं–४ को अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पशुपतिनाथको मूल मन्दिर क्षेत्र कोरोनाबाट बच्न गत चैत ११ गतेदेखि नै बन्द गरिएपछि गत साउनको पहिलो सातामा गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड लागेको थियो । मन्दिरमा लागेको भीडका कारण कोरोना फैलने जोखिम उच्च भएपछि साउन दोस्रो सातादेखि मन्दिर बन्द छ ।

बाबुको मुख हेर्ने दिन पिता दिवङ्गत भएका छोरा, छोरी यहाँ आई तर्पण, सिदादान र पिण्डदानसहित श्राद्ध गरेमा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ ।

यसै विश्वासका आधारमा प्रत्येक वर्ष कुशे औँसीसमेत भनिने भाद्रकृष्ण औँसीका दिन यहाँ हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ । मेलाका कारण हुने भीडले जोरपाटीबाट नै मूल सडक बन्द हुने गरेको थियो ।

यसैले भाद्रकृष्ण औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । अरुको घरमा डेरा गरी बसेका मानिस सोह्रश्राद्धमा गोकर्णेश्वर मन्दिर क्षेत्रमा श्राद्ध गर्न आउने भक्तजनको भीड लाग्छ । उत्तरगया समेत भनेर चिनिने गोकर्णेश्वर क्षेत्रमा सत्य युगमा भगवान् विष्णुले दायाँ पाउ टेकेको विष्णुपादुका छ । जसलाई महत्वका साथ पुजिन्छ ।

शास्त्रीय एवं पौराणिकरुपमा महत्वको गया क्षेत्र भए पनि सरोकार भएका सरकारी निकायको बेवास्ताका कारण गोकर्णेश्वर क्षेत्र ओझेलमा पर्दै आएको छ ।पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना गरिने भएकाले पनि यहाँको धार्मिक एवं सांस्कृतिक महत्व रहेको यस विषयमा खोज गरिरहनुभएका संस्कृतिविद् गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले बताउनुभयो ।

गोकर्णेश्वर महादेव मन्दिरका नाममा रहेको ३९६ रोपनी गुठी जग्गा मासिएपछि यहाँको पूजा विधिसमेत छोटो बनाइएको थियो । यस वर्ष गोकर्णेश्वर नगरपालिकाले पूजा सञ्चालनका लागि रु ७५ लाखको अक्षय कोष स्थापना गरेपछि साउन १ गतेदेखि पुरानै परम्पराअनुसार बाजागाजासहित पूजा आराधना शुरु भएको छ ।

कोरोनाका कारण मन्दिरमा लाग्ने मेला, जात्रालगायत भीडभाड हुने कार्यक्रम बन्द गरिए पनि नित्य पूजा आराधना भने यथावत् रहने समितिले जनाएको छ ।

विगत वर्षहरुमा भाद्रकृष्ण औँसीको तीन दिनअघिदेखि नै भक्तजन मन्दिर क्षेत्रमा आएर बस्ने गरेकामा यस वर्ष कोरोनाका कारण चहलपहल नभएको पुजारी जगदिशप्रसाद भट्टले जानकारी दिनुभयो । भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर क्षेत्र वरपर हजारौँ मानिस दिवङ्गत पितृप्रति सम्मान गर्न उपस्थित हुने गरेका थिए ।

कोरोनाको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि चाडपर्व, मेला, जात्रामा हुने भीडभाड यस वर्ष बन्द गर्ने निर्णय गरेको थियो । कोरोनाकै कारण यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रासमेत रोकिएको छ ।

यसैगरी इन्द्रजात्रा पनि स्थगित गरिएको छ ।हरितालिका (तीज) पर्वसमेत तामझामका साथ नगर्न नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ । नगरपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयबाट प्रवाह गरिने अत्यावश्यकबाहेकका सबै सेवा पनि भदौ ९ गतेसम्मका लागि बन्द रहने नगर प्रमुख चालिसेले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.