कोरोना भ्याक्सिन नेपाललाई प्राथमिकतामा राखेर उपलब्ध गराउने प्रतिबद्धता

अध्यक्ष तिमिल्सिना र रसियन राजदूत नोभिकभबीच शिष्टचार भेट

काठमाडौं– नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अर्डर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग मंगलबार सिंहदरबारमा भएको भेटमा राजदूत नोभिकभले भन्नुभयो, ‘रसियाले तयार पारेको भ्याक्सिन नोभेम्वरमा विश्वबजारमा आउनेछ। नेपाललाई प्रथामिकतामा राखेर उपलब्ध गराउन सकिन्छ ।’

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले रुसद्वारा सफल परीक्षण भएको भ्याक्सिनले छिट्टै विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने विश्वास व्यक्त गर्नुभएको थियो ।

भेटमा दुई देशको कूटनीतिक सम्बन्ध, संसदीय सम्बन्ध, कोरोना प्रभाव, पूर्वाधार विकास, व्यापार र लगानीको साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो।

अध्यक्ष तिमिल्सिनाले रुसमा रहेका नेपाली समुदायको यस कठिन परिस्थितमा पनि ख्याल राखेकोमा रसियन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले रसियाले चिकित्सा, इन्जिनियरिङ, औद्योगिक जस्ता क्षेत्रहरूमा सीपयुक्त जनशक्ति विकासमा पुर्‍याउँदै आएको सहयोग तथा यी क्षेत्रहरूमा दिँदै आएको छात्रवृत्तिले नेपाली विद्यार्थीहरू लाभान्वित भएको बताउनुभयो।

नेपाल र रसियाको संसदीय प्रतिनिधि मण्डलबीच समय समयमा हुँदै आएका भ्रमणको स्मरण गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले दुई देशका संसदीय मैत्री समूहद्वारा दुई देशको संसद र जनता बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

राजदूत नोभिकभले नेपालको पर्यटन प्रबर्द्धन तथा रसियन पर्यटकको संख्या बृद्धि गर्न काठमाडौं-मस्को नियमित हवाई उडान सुरु गर्न सकिने धारणा राख्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.