पश्चिम अफ्रिकी मुलुक मालीमा सैनिक विद्रोह, राष्ट्रपति र प्रधानमन्त्री नियन्त्रणमा

काठमाडौं- पश्चिम अफ्रिकी मुलुक मालीमा सैन्य कू भएपछि राष्ट्रपति इब्राहिम बुबाकर केताले पदबाट राजीननामा दिनुभएको छ ।

टेलिभिजनमार्फत् सम्बोधन गर्दै राष्ट्रपति केताले सरकार र संसद दुवै विघटन गरिएको पनि घोषणा गर्नुभएको छ। रगत बगाएर आफू सत्तामा रहिरहन नचाहेकाले पदबाट हटेको राष्ट्रपति केताले बताउनुभएको छ ।

मालीका सैनिकहरूले विद्रोह गर्दै राष्ट्रपति केतासहित प्रधानमन्त्री बुबु सिइसे र मन्त्रिमण्डलका अन्य सदस्यहरूलाई नियन्त्रणमा लिएर राजधानी बामाको नजिकैको सैन्य शिविरमा राखेको केही घण्टापछि नै उहाँको राजीनामा आएको हो ।

सन् २०१८ मा पुनः चुनाव जित्दै केता दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा नियुक्त हुनुभएको थियो । तर भ्रष्टचार, अव्यवस्थित अर्थतन्त्र र देशका विभिन्न भागमा बढ्दो सामुदायिक हिंसाका कारण मालीमा जनआक्रोश चुलिँदो छ ।

सैन्य विद्रोहमा कतिजना सैनिकहरू सहभागी थिए भन्ने हाल स्पष्ट भइसकेको छैन। सेनाभित्र तलबभत्ता र जिहादी लडाकूहरूसँगको निरन्तर द्वन्द्वका कारण साथै राष्ट्रपति केतासँगको मतभेदका कारण आक्रोश व्याप्त रहेको छ।

यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेशले मालीका राष्ट्रपति सहित अन्यको तत्काल र बिनाशर्त रिहाईका लागि माग गर्नुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.