तीन सरकारी कार्यालयको सेवा बन्द

काभ्रे- पछिल्लो केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेपछि जिल्लास्थित तीनवटा सरकारी कार्यालयले आजदेखि सेवा बन्द गरिएको जनाएका छन् ।
आन्तरिक राजश्व कार्यालय धुलिखेलले सूचना जारी गर्दै आजदेखि सेवा बन्द रहेको जनाएक हो । कोरोना भाइरस सङ्क्रमण काभ्रेपलाञ्चोकमा समुदायस्तरमा फैलिरहेको असहज परिस्थितिका कारण समग्र कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिई सेवा बन्द गरेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले अति जरुरी बाहेकका सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको बताउनुभयो ।
यसैगरी जिल्लास्थित मालपोत कार्यालयले पनि पछिल्लो केही दिनदेखि कोरोना भाइरस सङक्रमितको सङ्ख्या बढिरहेको जनाउँदै स्वास्थ्य संवेदनशीलताका कारण अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द रहेको जनाएको छ । प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको निर्णयानुसार मङ्गलबारदेखि सेवा बन्द गरिएको बताउनुभयो ।
केन्द्रले जिल्लामा दिनानुदिन सङ्क्रमित दर बढ्दै गएपछि सेवाग्राहीको भीडभाड हुने तीन कार्यालयको सेवा अनिश्चतकालीनरूपमा बन्द गरेको हो । जिल्लामा मङ्गलबार मात्रै १६ सङ्क्रमित देखिएका थिए ।
केन्द्रको मङ्गलबारको आकस्मिक बैठकले जिल्लास्थित बढी मानिसको भीडभाड हुने तीन कार्यालयको सेवा बन्द गरिएको जनाएको हो । साथै केन्द्रले उपत्यका प्रवेश गर्ने दुई नाका साँगा र नालामा आवागमन जाँचमा थप कडाइ गर्ने निर्णय गरेको छ ।
केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले कोरोना भाइरसको उच्च जोखिमका कारण आन्तरिक राजश्व कार्यालय, मालपोल कार्यालय र नापी कार्यालय अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गराइएको बताउनुभयो । उहाँका अनुसार अन्य सेवाप्रदायक सरकारी कार्यालयले सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रदान गर्नुपर्नेछ ।-
प्रतिक्रिया राख्नुहोस्