‘हरित जलवायु कोष’द्वारा नेपाललाई तीन अर्ब सहयोग

काठमाडौं- हरित जलवायु कोष (जिसिएफ) ले नेपालको जलवायु परिवर्तनका क्षेत्रमा रु तीन अर्ब भन्दा बढी अनुदान सहयोगको परियोजना स्वीकृत गरेको छ । कोषले नेपालको गण्डकी नदी जलाधारमा जलवायु परिवर्तनको अनुकूलनका क्षेत्रमा २७ दशमलव चार मिलियन अमेरिकी डलर अनुदान सहयोग गर्ने प्रस्ताव बुधबार स्वीकृत गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । परियोजना सो क्षेत्रका १९ जिल्लामा लागु हुनेछ ।

वन र अर्थ मन्त्रालयले मिलेर उक्त सहयोग परिचालनका लागि मोडालिटी तयार गर्ने र सो रकम जलवायु परिवर्तनको अनुकूलनका क्षेत्रमा खर्च गरिने वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले जानकारी दिनुभयो ।

कोषबाट औपचारिक जानकारी मन्त्रालयमा आएपछि सम्बन्धीत साझेदारसँग बैठक गरी खर्च र कर्मचारीको मोडालिटीलगायत आवश्यक विषयमा सल्लाह गरेर परियोजनाले अन्तिम रुप पाउने उहाँले बताउनुभयो । यो प्रक्रियामा झण्डै छ महिनादेखि एक वर्ष लाग्ने मन्त्रालयको अनुमान छ ।

परियोजनाले पानी, वन, कृषि, साना तथा लघु उद्यमलगायत जनताका आधारभूत आवश्यकतामा काम गर्नेछ । स्थानीय जनताको आर्यआर्जन, रोजगारीका विषयसँग सम्बन्धीत भएर महिला आदिवासी-जनजाति सबैको सहभागितामा परियोजना सञ्चालन गरिनेछ ।

विश्वका विकसित राष्ट्रहरुले आफ्नो विकास गर्ने क्रममा कार्बन ग्याँस उत्सर्जन गर्दा पृथ्वीको तापक्रम बढेपछि त्यसको असरले नेपाल जस्ता अति कम विकसित साना मुलुकका गरिब जनता बढी जोखिममा परेका छन् । त्यस्ता जोखिमबाट मुक्त बनाउन र जोखिमसँग अनुकूलित भएर बाँच्नका लागि उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कोषको स्थापना भएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.