६ महिना उपलब्धिमुलकः कानून मन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पछिल्लो ६ महिना पूर्ण उपलब्धिमूलक भएको बताउनुभएको छ ।
कानून मन्त्रीको कार्यभार सम्हालेको छ महिना पूरा गरेको अवसरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेलेले मौलिक हकसँग जोडिएका १६ वटा मध्य १२ वटा नियमावली बनाइसकेको उल्लेख गर्नुभयो । उहाँले खाद्य अधिकार, आवासको अधिकार र अपराध पीडितको हकबारे भने सुझाव संकलनको काम भइरहेको बताउनुभयो ।
६ महिनाको अवधिमा मन्त्रालयले १९ वटा विधेयकको मस्यौदा, २८ नियमावलीको मस्यौदा, ७ वटा विधेयक, २ वटा निर्देशिकाको तर्जुमा गर्न सहमती दिएको छ ।
यसैबीच मन्त्री तुम्बाहाङ्फेले शिवमाया डट कम डट एनपी नामक वेबसाइट सार्वजनिक गर्नुभएको छ । वेबसाइटमा मन्त्री तुम्बाहाङ्फेसँग सम्बन्धित समाचार, अन्तर्वार्ता, तस्बिर, भिडियो लगायतका सामाग्रीहरु राखिएको छ ।
यसैबीच नेपाल कानून आयोगले आफ्नो वार्षिक प्रतिवेदन कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेलाई बुझाएको छ । आयोगका अध्यक्ष माधव पौडेलले बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन बुझाउनुभएको हो ।
कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले प्रचलित कानूनमा भएका कैद सम्बन्धी नयाँ व्यवस्थाहरुलाई कार्यान्वयनमा लैजान सरोकारवाला मन्त्रालयसँग समन्वय गर्ने तथा सोही सन्दर्भमा कारागार ऐनलाई संशोधन गर्ने निष्कर्षमा पुगेको जानकारी दिनुभएको थियो ।





प्रतिक्रिया राख्नुहोस्