लिदी पहिरोमा ज्यान जानेको संख्या ३२ पुग्यो

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीमा आठ दिनअघि गएको पहिरोमा पुरिएर ज्यान जानेको संख्या ३२ पुगेको छ ।

पहिरोमा परेर हराइरहेका मध्ये आज दुई जनाको शव भेटिएपछि मृतकहरुको सङ्ख्या ३२ पुगेको हो । आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । गाउँमाथि माथिबाट झरेको सिङ्गो पहिरोमा परि ३७ वटा घर बगाउनु साथै ३९ जनालाई बेपत्ता बनाएको थियो ।

उता, अछामको रामारोसन गाउँपालिकामा रहेको कैलाश खोलामा तीन दिनअघि आएको बाढीमा बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् । बाढीमा बगेर ६ जनाको मृत्यु भएको थियो । बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोली निरन्तर खटिएपनि भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

सुतिरहेको अवस्थामा अचानक आएको बाढीले सैनीबजारमा रहेका घर, पसलसहित उनीहरुलाई बगाएको थियो ।

यसैबीच, गृहमन्त्री रामबहादुर थापासहितको टोलीले बाढी प्रभावित क्षेत्रको शुक्रबार स्थलगत निरीक्षण गरी पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.