ऋषिपञ्चमीमा कोरोना प्रभाव : नदी किनारमा स्नान गर्न प्रतिबन्ध

काठमाडौँ- भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ ।

रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धती सहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारी रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी, र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ ।

यसैकारण आजको दिन दत्तिउन,गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको उहाँले बताउनुभयो ।

यसरी स्नान गरेपछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने पनि भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

वाग्मती लगायत नदीमा स्नान नगर्न आह्वान

ऋषिपञ्चमी पर्वमा महिलाले नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण घर घरमै स्नान गर्न महानगरीय प्रहरी वृत्त बौद्धले आह्वान गरेको छ ।

तुलनात्मक रुपमा वाग्मती सफा रहेको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका महिलाको समूहले स्नान गर्ने गरेका थिए । गोकर्णबाट सुन्दरीजलसम्मको करिब सात किमी नदी किनारको दायाँ बायाँ दुई नगरपालिकाका हजारौँ महिलाले ऋषिपञ्चमीमा स्नान गर्ने गरेका थिए ।

गोकर्णे औँशीका दिन गोकर्णेश्वर महादेव मन्दिर भीड हुन नदिए जस्तै ऋषिपञ्चमीका अवसरमा आइतबार वाग्मती किनारमा स्नानका लागि पनि निषेध गरिएको वृत्तका प्रहरी प्रमुख नवीन कार्कीले राससलाई जानकारी दिनुभयो ।

बिहानैदेखि वाग्मती, मनोहरा लगायत नदी किनारमा प्रहरी राखेर नदी किनारमा भीड जम्मा स्नानका लागि भीड जम्मा हुन नदिने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । नदीमा समूह जम्मा भएर स्नान गर्दा कोरोनाको सङ्क्रमण फैलन सक्ने भएकाले यस्तो आह्वान गरिएको वृत्तले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.