सङ्क्रमित थुनुवा आइसोलेसनबाटै फरार
बाँके- जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् ।
कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ती थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।
लागूऔषध कोरेक्स मुद्दाका ती थुनुवालाई भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि कृषि तालीम केन्द्रको आइसोलेसनमा लगिएको थियो । थुनुवा फरार भएको जानकारी पाउनासाथ उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पाँच सीसी लागूऔषध कोरेक्ससहित ती व्यक्ति पक्राउ परेका थिए । आइसोलेसनबाटै सङ्क्रमित थुनुवा फरार भएपछि खोजी कार्यका लागि सुरक्षा टोली परिचालन गरिसकेको प्रहरी उपरीक्षक रानाले बताउनुभयो ।
सङ्क्रमित थुनुवा फरार भएपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाएर आवश्यक अनुसन्धान भइरहेको छ । उक्त आइसोलेसनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच प्रहरी खटिएका थिए ।-
प्रतिक्रिया राख्नुहोस्