‘फ्रन्टलाइनर’लाई निरुत्साहिन नगर्न अपिल
काठमाडौं– महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमणविरुद्ध खटिएका फ्रन्टलाइनलाई निरुत्साहन नगर्न अपिल गर्नुभएको छ ।
आफ्नो ज्यानको पनि ख्याल नगरी दिनरात खटिएका स्वास्थ्यकर्मी बसेको होस्टल, डेरा र निजी घरलाई लक्षित गरेर अबरोध र अपहेलनाका घटना सार्वजनिक भइरहेका बेला मेयर श्रेष्ठले मंगलबार विज्ञप्ती जारी गर्दै महामारीको कठीन परिस्थितिमा पनि फ्रन्टाइनमा बसेर काम गरिरहेका योद्धाहरुलाई प्रोत्साहन गर्न अपिल गर्नुभएको हो ।
‘महामारीसँग सङ्घर्ष गरिरहनुभएका स्वास्थ्यकर्मीविरुद्ध भएका अबरोध र मनोबल गिराउने कार्य सदा सर्वथा गलत र निन्दनीय छ । अतः त्यस्तो कार्यमा सरिक नहुन म नगरबासी सबैमा हार्दिक अनुरोध गर्दछु,’ उहाँले भन्नुभएको छ, ‘हामी र हाम्रो परिवार सङ्क्रमणको जोखिममा छ । हामी प्रार्थना गर्दछौं कोही कसैलाई त्यस्तो सङ्क्रमण नहोस् तर भइहालेको अवस्थामा उपचार गर्ने तिनै स्वास्थ्यकर्मी हुन् भन्ने सबैले हेक्का राख्नुपर्दछ ।’
मेयर श्रेष्ठले स्वास्थ्यकर्मीसँगै जनधनको रक्षा गर्न दिनरात फिल्डमा खटिनुभएका सुरक्षाकर्मीहरु, सूचना सम्प्रेषणमा खटिनुभएका सञ्चारकर्मीको मनोबल उच्च बनाउन र सहयोग गर्न अनुरोध गर्नुभएको हो । उहाँले सङ्क्रमणको अवस्थाबा गुज्रनुभएका बिरामी र उहाँका परिवारजनलाई अबहेलना गर्ने, सामाजिक बहिष्कार गर्नेजस्ता कार्यमा सहभागी नहुन समेत अपिल गर्नुभएको हो ।
‘हामी सबै नागरिकले सामूहिक प्रयास, समन्वय र सहकार्य तथा आपसी प्रेम, सद्भावबाट मात्र महामारी नियन्त्रण, रोकथाम र निर्मूल बनाउन सक्छौं,’ उहाँले भन्नुभएको छ, ‘नागरिक तहबाट अहिले भइरहेका सहयोग र सद्भावप्रति महालक्ष्मी नगरपालिका हार्दिक आभार प्रकट गर्दछ ।’






प्रतिक्रिया राख्नुहोस्