उपत्यकामा १० हजार सङ्क्रमित रहेको आँकलन

काठमाडौं- कोभिड-१९ को सङ्क्रमणले सङ्घीय राजधानीसमेत प्रभावित बनाएपछि त्यसको ‘चेन ब्रेक’ गर्न विभिन्न निकायसँगको समन्वयमा उपत्यकाका पालिकाहरुले विशेष अभियान थालेका छन् ।
राजधानीमा सङ्क्रमणको गति तिब्र भएपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउँदै अन्यत्र फैलिन नदिन ‘कन्ट्याक ट्रेसिङ् र शङ्कास्पद क्षेत्र’का व्यक्तिको स्वाब परीक्षण तिब्र पारिएको हो । उपत्यका नगरपालिका फोरमले त्यसको अगुवाइ गरेको छ ।
काठमाडौँ उपत्यकाका १६ नगरपालिका र दुई महानगर फोरममा आवद्ध छन् । फोरमको बैठकले सङ्क्रमण फैलिन नदिन वडा तहमै पुगेर पहिचान र उपचारलाई तिब्रता दिने निर्णयमुताविक काम थालेको हो । हाल उपत्यकामा १० हजार सङ्क्रमित रहेको आँकलन गर्दै नियन्त्रणको काम अघि बढाइएको छ ।
अहिलेसम्म उपत्यकमा तीन हजार बढीमा कोभिड–१९ देखिएको छ । झण्डै एक हजार २०० उपचार पछि निको भएर फर्किएका छन् । काठमाण्डौ उपत्यकामा मात्रै अहिलेसम्म यसरी परीक्षण गर्नुपर्ने झण्डै २८ हजार ५०० रहेका छन् । उनीहरुको परीक्षण गर्दा १० हजारमा सङ्क्रमण देखियो भने समुदायमा गएको पुष्टि हुन्छ ।
यसैबीच काठमाडौं जिल्ला कोरोना संकट व्यवस्थापन समितिले उपत्यकामा क्वारेन्टिनस्थल र आइशोलेशन निर्माणलाई तिव्रता दिने निर्णय गरेको छ । समितिको बिभिन्न बिद्यालयलाई क्वारेन्टिनस्थल बनाउने र पशुपति धर्मशालाई पनि क्वारेन्टिनस्थल र आइशोलेशनमा रुपान्तरण गरिने र अन्य स्थानको खोजी गर्ने निर्णय गरेको हो । बैठकले उपत्यका प्रवेशलाई थप कडा बनाउनुपर्नेमा जोड दिएको छ ।
बैठकमा जारी निषेधाज्ञालाई केही दिन लम्बाउनुपर्ने र त्यसलाई कडा रुपमा पालना गराउनुपर्नेमा बैठकले जोड दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।
काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले उपत्यकामा क्वारेन्टिन र आइशोलेशन निर्माणका लागि जिल्ला कोरोना संकट व्यवस्थापन समिति मार्फत नै तिब्रता दिने बताउनुभयो । उपत्यकामा पीसीआर जाँचलाई तीब्र रुपमा अघि बढाउने निर्णय पनि काठमाडौं जिल्ला कोरोना संकट व्यवस्थापन समितिले गरेको छ ।-






प्रतिक्रिया राख्नुहोस्