दुर्गम पहाडी जिल्लामा खाद्यान्न अभाव [भिडियो रिपोर्ट]
काठमाडौं– देशका कतिपय दुर्गम पहाडी जिल्लामा खाद्यान्न अभाव देखिएको छ । कोरोना महामारीले गर्दा गरिएका बन्दाबन्दी तथा बाढी(पहिरो लगायतका कारणले आपूर्ति व्यवस्था सहज नहुँदा अभावको स्थिति आएको हो। यातायात सहज हुनासाथ ती ठाउँहरूमा तत्काल खाद्यान्न पठाइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
देशव्यापी रुपमा फैलिएको कोभिड १९का कारण बजार तथा पसलहरु लगभग बन्द छन्। साथै वर्षा, बाढी र पहिरो समेत यहीवेला थपिएकाले खाद्यान्न ढुवानी समेत प्रभावित भएको छ। यसले गर्दा कतिपय दुर्गम पहाडी जिल्लाहरूमा खाद्यन्न अभाव देखिएको छ । आफ्नै उत्पादनले बर्षभरि खान नपुग्नेहरुले किन्नका लागि समेत खाद्यान्न नपाउने स्थिति ती स्थानहरूमा देखिएको छ । बाजुरा, मुगु, हुम्ला, अछाम लगायतका जिल्लाका बासिन्दा अहिले यही स्थिति भोग्दैछन् । कामका सिलसिलामा ठूला(शहर तथा विदेशमा पुगेकाहरू समेत कोरोना संक्रमणका कारण गाँउमा फर्किएको अवस्थामा स्थानीय उत्पादन झन् अपुग हुन पुगेको छ।
यसैबीच खाद्यन्न अभाव भएका जिल्लाहरूमा तत्काल खाद्यन्न पुर्याउने गरी काम गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । आफूसँग करिब २२ हजार मेट्रिक टन खाद्यन्न मौज्दात रहेको जनाउँदै कम्पनीले यातायातको व्यवस्था सहज हुनासाथ अभावग्रस्त जिल्लाहरूमा खाद्यन्न पुर्याइने बताएको छ ।
हुन त कम्पनीले दुर्गम जिल्लामा मात्र होइन सहरमा बस्नेहरुका लागि पनि अनलाइन प्रविधि मार्फत सेवा विस्तार गरेको छ । काठमाडौं उपत्यकाको साथै सुर्खेतमा पनि दाल, चामल, घ्यू, नून, पीठो लगायतका दैनिक उपभोग्य वस्तुहरु अनलाइन सेवा मार्फत अर्डर लिइ आपूर्ती गर्ने व्यवस्था कम्पनीले मिलाएको छ । अनलाइन सेवालाई पोखराका साथै जनकपुरमा पनि विस्तार गर्ने तयारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको छ ।
प्रतिक्रिया राख्नुहोस्