प्रत्येक दुई घण्टामा एक कोरोना सङ्क्रमितको मृत्यु
बाहिरबाट आएका धेरैजसो सङ्क्रमित लुकेर समेत बसेको आशंका

काठमाडौं- नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिलेसम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ ।
भदौ शुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमणबाट बिहीबार नौ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए । भदौ यता शुक्रबार सम्ममा कोरोनाबाट एक दिनमा औसतमा झण्डै सात जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दैनिक बढ्ने देखिन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार साउनमा कोरोना मृत्यु दर नेपालमा सून्य दशमलव ४ प्रतिशत थियो । भदौ लागेपछि मृत्यु दर बढेर सून्य दशमलव ५ प्रतिशत पुगेको छ ।
कोरोनाका कारण साउन ३२ गते सम्ममा नेपालमा १०४ जनाले ज्यान गुमाएका थिए । शुक्रबार सम्ममा उक्त सङ्ख्या बढेर १९५ पुगेको छ । मर्नेमा महिला २६ प्रतिशत अर्थात् ५१ तथा पुरुष ७४ प्रतिशत अर्थात् १४४ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबारसम्म कोरोनाबाट पर्सा ३३, काठमाडौँ १८, मोरङ १६, धनुषा १३, बारा १२, बाँके र रुपन्देही सात-सात, कैलाली, सप्तरी, सुनसरी, चितवन र सिरहा पाँच-पाँच, सर्लाही, महोत्तरी, कपिलवस्तु, मकवानपुर, भक्तपुर र कास्की चार-चार, रौतहट, ललितपुर, गुल्मी र सिन्धुपाल्चोक तीन-तीन, अछाम, सुर्खेत, झापा, स्याङ्जा, काभ्रेपलाञ्चोक र दोलखा दुई-दुई तथा दैलेख, दाङ, बाजुरा, पाल्पा, प्यूठान, अर्घाखाँची, बर्दिया, बझाङ, बागलुङ, तनहुँ, नवलपरासी पश्चिम, धादिङ, गोर्खा, उदयपुर, म्याग्दी र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोनाबाट निको भएर घर फर्किनेको सङ्ख्या ५५ दशमलव पाँच प्रतिशत रहेको छ । हाल देशका सरकारी ३३ र निजी क्षेत्रको ११ गरी ४४ प्रयोगशालामा पिसिआर परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । शुक्रबार देशभर ९२७ जना कोरोना सङ्क्रमित थपिएकामा तीमध्ये प्रदेश नं १ मा १११, प्रदेश नं २ मा ९१, वाग्मती प्रदेशमा ५३२, गण्डकी प्रदेश ३५, प्रदेश नं ५ मा ११७, कर्णाली प्रदेश २० तथा सुदूरपश्चिम प्रदेश २१ जना रहेका थिए ।
प्रवक्ता गौतमका अनुसार हाल देशभर ५०० भन्दा बढी सङ्क्रमित भएका नौ जिल्ला रहेका छन् । काठमाडौँ, ललितपुर, मोरङ, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट र सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ । मुस्ताङ र हुम्ला कोरोना सङ्क्रमित मुक्त जिल्ला हुन् ।
शुक्रबारसम्म देशभर ६ लाख ५८ हजार ११० जनाको पिसिआर परीक्षण गरिएको छ । प्रवक्ता गौतमका अनुसार हाल नेपालमा सङ्क्रमितको सङ्ख्या ३६ हजार ४५६ रहेको छ । तीमध्ये आइसोलेसनमा १६ हजार १९ सङ्क्रमित रहेका छन् । हालसम्म २० हजार २४२ जना कोरोना निको भएर घर फर्किएका छन् । निको हुने सङ्क्रमितको सङ्ख्या ५५ दशमलव पाँच प्रतिशत रहेको छ । देशभर शुक्रबारसम्म आठ हजार ९३९ जना क्वारेन्टिनमा छन् ।
शुक्रबारसम्म विश्वभर कोरोनाबाट आठ लाख ३६ हजार ११२ जनाको ज्यान गइसकेको छ । हालसम्म कोरोनाबाट विश्वभर दुई करोड ४६ लाख ५४ हजार ९६५ जना सङ्क्रमित भएकामा एक करोड ७१ लाख १३ हजार ७६३ जना निको भएर घर फर्किसकेका छन् ।
दक्षिण एसियाली देशहरुमध्ये भारतमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या ३४ लाख ६१ हजार २४०, पाकिस्तानमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९५ हजार ५३, अफगानिस्तानमा कूल सङ्क्रमितको सङ्ख्या ३८ हजार १४०, बङ्गलादेशमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ६ हजार ७९४, माल्दिभ्समा कूल सङ्क्रमितको सङ्ख्या सात हजार ४६९, श्रीलङ्कामा कूल सङ्क्रमितको सङ्ख्या दुई हजार ९८९ तथा भूटानमा कूल सङ्क्रमितको सङ्ख्या १८४ जना रहेको छ ।
हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेहरुमा दक्षिण एसियाली देश भारत ६२ हजार ७१३, अफगानिस्तान एक हजार ४०२, पाकिस्तान ६ हजार २८३, बङ्गलादेश चार हजार १७४, माल्दिभ्स २८ तथा श्रीलङ्कामा १२ जना छन् । कोरोनाबाट हालसम्म भूटानमा कसैको पनि ज्यान गएको छैन । भूटानमा हाल ६५ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।
नेपालमा पहिलो कोरोना सङ्क्रमितको मृत्यु गत जेठ २ गते भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा सागरकुमार राजभण्डारी नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेमा दीर्घरोगी धेरै रहेको बताउनुहुन्छ । उनीहरु लामो समयदेखि विभिन्न रोगसित लड्दै आएका तथा औषधि सेवन गरिरहेका पाइएको छ । समुदायमा कोरोना फैलँदै गएकाले मृत्यु दर ह्वात्तै बढ्ने राजभण्डारीले बताउनुभयो ।
काठमाडौँ उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । केही हप्ता यता यहाँ सङ्क्रमितको सङ्ख्या अत्यधिक बढेको छ । काठमाडौँ महानगरपालिका, कीर्तिपुर, मनोहरा कागेश्वरी र चन्द्रागिरि नगरपालिका कोरोनाबाट बढी प्रभावित छन् । शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा शेरबहादुर पुन साउनमा लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्दा कोरोना सङ्क्रमित बढेको बताउनुहुन्छ ।
बाहिरी जिल्लाबाट आउनेलाई काठमाडौँमा क्वारेन्टिनमा राख्न सकिएन भने उनीहरुको पिसिआर परीक्षण पनि हुन नसकेको पुनको बुझाइ छ । बाहिरबाट आएका धेरैजसो सङ्क्रमित लुकेर समेत बसेको पाइएको छ । काठमाडौँ उपत्याकाको जनघनत्व अत्यधिक हुँदा कोरोना सङ्क्रमण दिन प्रतिदिन फैलिँदै गएको छ । अब परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने चिकित्सक बताउँछन् । –






प्रतिक्रिया राख्नुहोस्