लामो दुरीको यातायात र आन्तरिक हवाइ उडान अनिश्चित

काठमाडौं– नेपालमा पछिल्ला दिनमा कोभिड १९ भाइरस संक्रमणबाट संक्रमित र मृत्यु हुनेको संख्या बढेको छ ।

यसैबीच यसअघि लकडाउन खुल्ला गरिंदा समेत बन्द रहेका लामो दुरीको यातायातका साधन तथा आन्तरिक हवाइ उडान सञ्चालनको मिति फेरि सर्ने भएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकमा आन्तरिक उडान तथा अन्तर जिल्ला यातायात सञ्चालन यही भदौ मसान्तसम्मका लागि बन्द नै राख्ने विषयमा छलफल भएको छ । यसअघि आज सम्मका लागि लामो दुरीका यातायात, आन्तरिक उडान र शिक्षण संस्था लगायत धेरै संख्यामा मानिसहरु भेला हुने स्थल बन्द गर्ने निर्णय गरिएको थियो ।

तर पछिल्लो दिनमा कोरोना संक्रमणको दर बढेको र देशका विभिन्न स्थानमा निषेधाज्ञा र लकडाउन गरिएको अवस्था रहेकाले तत्कालका लागि यही भदौ मसान्तसम्म बन्द गर्ने निर्णयमा सरकार पुगेको हो । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले आजसम्मका लागि यसअघि निषेध गरिएका अन्य विषयलाई पनि भदौ मसान्तसम्म यथावत राख्ने निर्णय बैठकमा भएको बताइएको छ।

स्वास्थ्य मापदण्डको पालना गरी पिसिआर परिक्षण हुने मुलुकहरुबाट मंगलबारदेखि नियमित अन्तर्राष्ट्रिय उडानको तयारी गरिएको छ । मंगलबारदेखि दैनिक पँचसय सम्म यात्रु र एक महिनाको अवधिमा ६० वटा नियमित र २७ वटा चार्टर उडान हुने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण तयारी गरेको छ । पर्यटन मन्त्रालयले गत मंगलवार नियमित तथा चार्टर्ड अन्तर्राष्ट्रिय उडान तालिका, उडान सञ्चालनमा पालना गर्नुपर्ने शर्त र संयुक्त राष्ट्रसंघीय नियोग र विकास साझेदारहरूको सूचीसमेत समावेश गर्दै उडान स्वीकृतिका लागि प्राधिकरणलाई निर्देशन दिएको थियो ।

निर्देशनसँगै विभिन्न सरोकारवालाहरूसँगको समन्वयमा आवश्यक तयारी पुरा गरिसकेको प्राधिकरणले जनाएको छ । मंगलबारदेखि दैनिक ५०० यात्रुसम्म उडान गर्ने निर्णय गरेकाले सोही अनुसार एक–अर्को उडानबीचको समय, यात्रु आवागमन लगायत विषयमा विभिन्न प्रोटोकल बनाएर उडान सुचारु गरिने तयारी गरिएको प्राधिकरणले जनाएको छ। यसका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन, विश्व स्वास्थ्य संगठन र प्राधिकरण आफ्नै मार्गनिर्देशनको समेत अवलम्बन गरिने भएको छ ।

उडान हुनु ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुहरू मात्र आउन पाउनेछन् । सम्बन्धित एयरलाइन्सले त्यसको सुनिश्चित गरेर मात्र बोर्डिङ पास उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.