कोटेश्वरको जाम हट्ने निश्चित, चार लेन थपको काम सुरु

काठमाडौं– काठमाडौं प्रवेशमा सर्वाधिक जाम सामना गर्नुपरेको जडिबुटी–कोटेश्वर सडक फराकिलो बनाउने काम सुरु भएको छ ।

चार लेनको सडक विस्तार गर्दै जाम हटाउने उपाय खोजिएको हो । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङ्गले कोटेश्वर चोकमा विस्तार भइरहेको सडक अनुगमन निरीक्षण गर्नु भएको छ । उहाँले कोटेश्वर चोकको जाम हटाउन वैकल्पिक रुपमा विस्तार भइरहेको सडकको सोमबार स्थलगत अनुगमन गर्नु भएको हो ।

अनुगमनपछि मन्त्री नेम्वाङ्गले संघीय राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने अत्यन्तै महत्वपूर्ण पूर्वी नाका रहेको र उपत्याकाकै बढी यातायात जाम हुने ठाउँ भएकाले यथासक्य छिटो निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भयो । तत्काल कोटेश्वर चोकको जाम हटाउन अहिले दक्षिणतर्फ तीन लेन र उत्तर एयरपोर्टतर्फ एक लेन सडक विस्तार भइरहेको छ । जामको दीर्घकालिन समाधान गर्न सरकारले अण्डरपास निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग सहकार्य गर्ने तयारी गरिरहेको छ ।

पुरानो तारबार हटाउने, एयपोर्टको जग्गा भएकाले सुरक्षा संवेदनशीलताका कारण नयाँ बार लगाउने, सुरक्षा पोष्ट निर्माण गर्ने, ट्रयाक ओपन गर्ने र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेकाले एक हप्ता भित्रै ठेक्काको लागि टेन्डर निकालिने सडक डिभिजन काठमाडौंका प्रमुख कुवेर नेपालीले जानकारी गराउनु भयो ।

अनुगमनमा सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकाल समेत सहभागी रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.