नमोबुद्ध नगरपालिकाले अपांग र स्वास्थ्य स्वयंसेविकाको निःशुल्क कोरोना बिमा गरिदिने

काभ्रे- नमोबुद्ध नगरपालिकाले नगर भित्र रहेका अपांगता भएका व्यक्ति र स्वास्थ्य स्वयंसेविकाको कोरोना बिमा गर्ने भएको छ ।

नमोबुद्ध नगर कार्यपालिकाको हिजो आइतबार बसेको बैठकले नगरपालिकाबाट विभिन्न समयमा अपांगता परिचयपत्र वितरण गरेका व्यक्तिहरुमध्ये रातो र निलो परिचयपत्र प्राप्त गरेका अपांगता भएका व्यक्तिको कोरोना बिमा गर्ने निर्णय गरेको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनुभयो । पछिल्लो समय बढ्दो कोरोना महामारीका कारण अपांगता भएका व्यक्तिहरु पनि बढी प्रभावित हुने देखिएकाले नगरपालिकाबाट तत्कालै उहाँहरुको कोरोना बिमा गर्ने निर्णय गरिएको तिमल्सिनाले बताउनुभयो ।

नमोबुद्ध नगरपालिकामा रातो अपांगता परिचयपत्र पाउने ९० जना रहेका छन् भने निलो परिचयपत्र पाउने व्यक्ति १ सय ४५ जना रहेका छन् । यसैगरी नगरपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेविकाको पनि कोरोना बिमा गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ । हाल नमोबुद्ध नगरपालिकामा ८१ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।

त्यस्तै नगर कार्यपालिकाको बैठकले आज सोमबारबाट यही भदौ २२ गते सोमबारसम्मका लागि नगरपालिकाले दिने सेवा वन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले यसअघि आलोपालो प्रणालीमा कर्मचारी व्यवस्थापन गरेर सेवा सञ्चालनमा ल्याएको थियो । नगरपालिकामै कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र कन्ट्रयाक्ट ट्रेसिङ लगायतका कार्य सहज बनाउन सेवा वन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.