मन्त्रिपरिषद् निर्णयः यातायात र आन्तरिक उडान असोजदेखि, सांसदहरु पनि कोरोना नियन्त्रणमा परिचालित

काठमाडौं– सरकारले भदौ १६ गतेदेखि सुरु गर्ने भनिएका सार्वजनिक यातायात र आन्तरिक उडान असोज १ गतेसम्मका लागि सारेको छ ।

मन्त्रिपरिषदको आइतबार बसेको निर्णय सोमबार सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले विगतको निर्णयलाई संशोधन गर्दै सरकारले जारी गरेका आदेश राजपत्रमा प्रकाशित गर्ने जानकारी दिनुभयो । संक्रामक रोग ऐन, २०२० अनुसार अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन असोजसम्म पर सरेको हो । ‘संक्रमण जोखिम कायमै रहेकाले त्यस्तो सेवा अहिले नै सञ्चालन गर्न जोखिममुक्त रहेकाले त्यसलाई असोज १ सम्म सारिएको हो,’ उहाँले भन्नुभयो ।

आन्तरिक हवाई उडान पनि असोज १ गतेसम्म सारिएको छ । ‘पर्यटन मन्त्रालयले तोकेको मापदण्डअनुसार आन्तरिक, व्यवसायिक उडानहरु भदौ १६ देखि भनिएकोमा असोज १ गतेसम्मका लागि सारिएको छ,’ सरकारका प्रवक्तासमेत रहनुभएका डा. खतिवडाले भन्नुभयो ।

सरकारले प्रदेश सरकार र स्थानीय सरकारले संक्रमण जोखिम विश्लेषणका आधारमा आइसोलेसन बेडको व्यवस्था गर्ने निर्णय गरेको छ । काठमाडौंमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी, निजी, मेडिकल कलेज र सामुदायिक स्वास्थ्य संस्थामा समेत आइसोलेसनको प्रबन्ध गर्नेछ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य मन्त्रालयको सहजिकरणमा बागमती प्रदेश सरकारले पनि काठमाडौंमा उपचार प्रबन्ध मिलाउनेछ ।

वाह्य उडानको व्यवस्था गर्दा आइसोलेसन बेडको क्षमता हेरेर दैनिक ८ सय यात्रु नबढ्ने गरी प्रबन्ध मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयलाई निर्देशन दिइएको छ । अब गैरआवासीय नेपाली, विदेशी विद्यार्थीलाई पनि ७२ घण्टाभित्रको आरटी पीसीआर प्रमाणपत्रका आधारमा आउन अनुमति दिइने भएको छ ।

सरकारले दुई–दुई मिटरमा परीक्षार्थी राखेर चिकित्सा दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । परीक्षा हलमा २५ जनाभन्दा बढी राख्न पाइने छैन ।

सरकारले प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा समानुपातिक सांसद तथा राष्ट्रिय सभा सदस्यलाई कोभिड १९ नियन्त्रण, रोकथाम तथा उपचारका लागि समन्वय र अनुगमनमा खटाउने निर्णय गरेको छ ।

सरकारले रोकिएको केराउ र मरिच आयात खुला गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.