सरकारको आग्रहलाई बेवास्ता गर्दै आफूखुशी विद्यालय खोल्ने क्रम बढ्दो
काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अहिले विद्यालय सञ्चालन नगर्न आग्रह गर्दै आएको छ । तर विभिन्न पालिकाहरुले भने औपचारिक निर्णयनै गरेर विद्यालय खुलाउन थालेका छन् ।
कोभिड-१९ को जोखिम कायमै रहेकाले तत्कालै विद्यालय खोल्न भन्दा वैकल्पिक सिकाई प्रणालीलाई प्राथमिकता दिन शिक्षामन्त्री गिरिराजमणी पोखरेलले आग्रह गर्दागर्दै पनि विभिन्न जिल्लामा आफूखुशी विद्यालय खोल्ने क्रम बढ्दो छ ।
यस पटकको शैक्षिक सत्रको बाँकी ७ महिनाको अवधिमा पाठ्यक्रमले तोकेको विषयवस्तु पढाउनकालागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यक्रम समायोजन गर्ने ढाँचा समेत सार्वजनिक गरिसकेको छ ।
विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका मार्फत् इन्टरनेट, टेलिभिजन, रेडियो तथा पाठ्यसामग्रीका आधारमा पठन पाठनको व्यवस्था गरिएको छ । तर अधिकांश विद्यार्थी प्रविधिको पहुँचमा नभएपछी विद्यालय सञ्चालन गरिएको भनाई जनप्रतिनिधि र शिक्षकको छ ।
विद्यालयहरुले सबै विद्यार्थीलाई एकैचोटी नबोलाई समुह र सिफ्टमा बाँडेर बोलाउने र उनीहरुलाई गृहकार्य दिएर पठनपाठनमा सहजीकरण गर्दै आएका छन् ।
कोभिड-१९ को संक्रमण नदेखिएको पालिका र क्षेत्रमा विद्यालय सञ्चालन गर्न दिने सम्बन्धमा शिक्षा मन्त्रालयले निर्णय नगर्दा स्थानिय पालिकाहरुले आफैं निर्णय गरेर पठनपाठन शुरु गरेका हुन् ।-
प्रतिक्रिया राख्नुहोस्