कोभिडको महामारीलाई युद्दको रुपमा लिएका छौं- डा निरज बम (भिडियोसहित)

काठमाडौं- नेपालमा कोरोनाको संक्रमण एकातिर बढ्दै जाने र अर्कोतर्फ कोरोना बाहेकका विरामीहरुको संख्या पनि अस्पतालमा थपिँदै जाँदा उपचारमा चुनौति भइरहेको छ। कतिपय विरामी त  कोरोनाको त्रासले अरु कुनै रोग लागे पनि जँचाउन जान आनकानी गरिरहेका छन । फेरि सिजन परिवर्तनताका बर्षेनी बिरामीहरुको संख्या बढ्ने समय पनि यही हो । यस्तो अबस्थामा आफ्नो स्वास्थ्यको ख्याल कसरी गर्ने र उपचारको लागि कसरी सजह पहूँच पुर्‍याउन सकिएला भन्ने विषयमा नेपालटेलिभिजन अनलाइनका गोविन्द धितालले त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जका सह-प्राध्यापक एवं बरिष्ठ छाती रोग बिशेषज्ञ डाक्टर निरज बमसँग लिएको अन्तर्वार्ताको संक्षिप्त अंश ।

नेपालमा कोरोना भाइरसको संक्रमण फैलँदो अबस्थामा छ, अब कसरी अघि बढ्नुपर्ला ?

अहिले थोरै परिक्षण गर्दा धेरै संक्रमित भेटिएका छन । कूल संक्रमितमध्ये काठमाडौं उपत्यका भित्र ३५ देखि ४० प्रतिशत संक्रमित छन । यसले समुदायस्तरमा समेत कोरोना फैलिएको भान भैरहेको छ । अर्को कुरा ट्राभल हिस्ट्रि नभएकाहरुमा पनि कोरोना संक्रमण देखिएको छ । त्यसैले यसलाई हामी सबैले गम्भीरताका साथ लिनुपर्छ र स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउनु पर्छ । सरकारले गरिरहेको प्रयासमा सबैले साथ दिनुपर्छ । नागरिकहरु आँफै सतर्क र सचेत हुन जरुरी छ । अस्पताल र स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्नुपर्छ । आत्तिनु हुन्न । र हेलचक्र्याइँ पनि गर्नु हुन्न ।

स्वयं स्वास्थ्यकर्मी नै धेरै संक्रमित भएका छन नि ? सेवा प्रभावित हुन्छ कि हुन्न ?

स्वास्थ्य सम्बन्धी कुनैपनि महामारीलाई हामी स्वास्थ्यकर्मीहरुले युद्दको रुपमा लिने गर्छौं । र युद्द जित्न जसरी अन्तिम समयसम्म लडिन्छ त्यसरी नै हामी लडिरहेका छौं । तथापी, सरकारी तबरबाट गर्नुपर्ने कतिपय कामहरुमा अलि ढिलासुस्ती हुँदा काम गर्न कठिन हुने गरेको छ । त्यसैगरी कोभिड र नन कोभिड अस्पतालहरु अलग अलग गर्न नसक्दा स्वास्थ्यकर्मी बढी संक्रमित भएका हुन । एउटै अस्पतालबाट दुबै सेवा दिनेभन्दा अस्पताल नै अलग बनाउनु पर्ने हो । त्यो भएको छैन । केन्द्रिय कोभिड अस्पतालहरु अस्थायी रुपमा बनाउनुपर्ने अवस्था छ । प्रदेशहरुमा पनि आइसोलेशन र भेन्टिलेटरसहितका नयाँ र ठूला अस्पताल बनाउन जरुरी छ । चीनमा एक हप्तामा एक हजार बेडको आइसीयूसहितको अस्पताल बनाएको उदाहरण हामी सबैलाई थाहा छ। इटलीमा एउटै अस्पतालमा दुबै सेवा उपलब्ध हुँदा संक्रमण फैलिएको दृष्टान्त पनि हामीले बिर्सन हुँदैन । त्यसैले स्वास्थ्यकर्मीको खटाइले मात्र पुग्दैन नीति र कार्ययोजना सही हुनुपर्छ । खटिएका स्वास्थ्यकर्मीहरुको काममा कुनै शंका गर्नुपर्ने अबस्था छैन ।

कोभिड बाहेकका विरामीहरुको अबस्था कस्तो छ ? सामान्य विरामी हुँदा पनि कोरोना हो भन्ने डरले मानिसहरु जँचाउन जाँदैनन,  कोरोना र फ्लुमा के फरक छ ?

अबश्य पनि अबको मौसम भनेको फ्लुका बिरामी बढ्ने समय हो । बर्षादको समय सकिएसँगै रुघाखोकी, ज्वरो र  टाइफाइडका बिरामीहरु बढ्ने अघिल्ला बर्षहरुको तथ्याङ्ले पुष्टि गर्दछ । झन यो बर्ष त कोरोना भाइरसको संक्रमणसँगै मृत्युदर बढेको छ । यस्तो समयमा हामीले थप सतर्कता अपनाउनुपर्छ । हामीले कोरोना र फ्लुमा के-के फरक छन भनेर पहिले थाहा पाउनुपर्छ । जस्तै कोरोनामा चाहिँ सास फेर्न गाह्रो हुने र रुघा खोकी तथा ज्वरो आउने गर्छ तर फ्लुमा चाहिँ बढी रुघाकोकी लाग्ने, हाछ्युँ आउने र मन्द ज्वरो आउने तथा हल्का शरिर दुख्ने हुन्छ ।

कोरोनाको त्रास र उपचारको आशमा रहेका विरामीहरुलाई के सुझाव दिनुहुन्छ ?

हामी सबैलाई थाहा छ कि जटिल खाले समस्या नभइकन अस्पताल नआउनु भनेर स्वास्थ्य मन्त्रालयले भनिरहेको छ । तर कस्ता समस्या जटिल हुन् भन्ने चाहिँ हामी धेरैलाई थाहा हुँदैन । अनि अकालमा मृत्यु हुने गर्छ । त्यसैले हामीले लक्षणको आधारमा कोरोना हो कि फ्लु हो भन्ने सामन्य रुपमा थाहा पाउन सक्यौं भने सबैभन्दा राम्रो । तर विरामी जस्तोसुकै होस् अस्पताल नआइकन पनि सल्लाह लिन सकिन्छ । अहिले सामाजिक सञ्जालहरु वा आफ्ना व्यक्तिगत चिकित्सकलाई टेलिफोन गरेरै भएपनि सल्लाह लिनुपर्छ । अस्पतालहरुले सम्पर्क फोन र व्यक्ति तोकिदिएका पनि छन । सम्पर्क गरेर मात्र अस्पताल जानुपर्छ । अनि रोग लुकाएर बस्नु हुँदैन । म फेरि एकपटक जोड दिन चाहान्छु कि समस्या अनुमान गरेर लुकाउने वा समस्यासँग डराएर बस्ने दुबै कामले हाम्रो स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । सचेत रहने र निरन्तर स्वास्थ्यकर्मी र चिकित्सकसँग टेलिफोन वा सामाजिक सन्जालबाट सुझाव र सल्लाह लिइरहन सबैलाई म आग्रह गर्दछु ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.