जोखिम भत्ता नपाएपछि चिकित्सक आन्दोलित

झापा- मेची अस्पताल झापाका चिकित्सक, नर्स तथा कर्मचारीले कोभिड-१९ को जोखिम मोलेर काम गरे पनि ‘जोखिम भत्ता’ नपाएको भन्दै आजदेखि आन्दोलनमा उत्रिएका छन् ।

सरकारले कोभिड–१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भने पनि हालसम्म नपाएपछि उनीहरुले पहिलो चरणमा विरोधस्वरुप आजदेखि हातमा कालो पट्टी बाँधेर आन्दोलन शुरु गरेका हुन् ।

यही भदौ २३ गतेसम्म पहिलो चरणको आन्दोलनअन्तर्गत हातमा कालो पट्टी बाँधेर काम गर्ने अस्पतालका मेडिकल अफिसर डा लेनिस पोखरेलले बताउनुभयो । उहाँले मेची अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले पाँच महिनादेखि भत्ता नपाएको बताउनुभयो ।

डा पोखरेलले तत्काल भत्ता उपलब्ध गराउन माग गर्दै प्रदेश सरकार, स्थानीय प्रशासन र अस्पताल विकास समितिलाई निवेदनसमेत दिएको बताउनुभयो । उहाँका अनुसार उनीहरुको माग सुनुवाई नभए २४ गतेदेखि अस्पतालको ओपीडी सेवासमेत बन्द गरिनेछ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पिताम्बर ठाकुरले असारमै जोखिम भत्ताका लागि सम्पूर्ण कागजातसहित हिसाब प्रदेश नम्बर १ को सामाजिक मन्त्रालयमा पठाइसकिएको बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.