घर र मठ मन्दिरमा क्षमा पूजा गरी मनाइयो इन्द्रजात्रा, हनुमानढोका सुनसान

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा हेर्न यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विशिष्ट व्यक्तित्व हनुमानढोका दरबारको गद्दी बैठकमा जानुभएन ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले गर्नुभएको सङ्कल्पको पूजा सामग्री ल्याई श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको क्षमा पूजा गरिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । कोरोनाका कारण जात्रा स्थगित नगरिएको भए राष्ट्राध्यक्षले हनुमानढोकामै आएर श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको पूजा गरी रथयात्रा हेर्नुहुने प्रचलन थियो ।

राजधानीका हजारौँ मानिस हनुमानढोका दरबार क्षेत्रमा उपस्थित भएर मनाइने इन्द्रजात्रा पर्व यस वर्ष घर घरमै वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको पूजा आराधना गरी मनाइएको छ ।काठमाडौँ उपत्यकाको मौलिक पर्व इन्द्रजात्राका अवसरमा मङ्गलबार सुनसान वसन्तपुरस्थित कुमारीघर ।

भाद्र शुक्ल चतुर्दशीका दिनदेखि आश्विन कृष्ण चौँथीका दिनसम्म हनुमानढोका क्षेत्रका टोल टोलमा घुमाइने रथयात्रामा घर घरबाट पूजा सामग्री ल्याई चोक चोकमा पूजा आराधना गरिन्थ्यो ।

श्रीगणेश, श्रीकुमारी र श्रीभैरवको रथ घुमाइने यात्रा यस वर्ष स्थगित गरेपछि इन्द्रसहित तीनै देवताको पूजा आराधना घर घरमै गरिएको काठमाडौँ महानगरपालिका वडा नं. १९ स्थानीयवासी सुमन खड्गीले बताउनुभयो । स्थानीयवासीले घर घरमा र इन्द्रजात्रासँग सम्बन्धित मठ मन्दिरका पूजारीले देवस्थलमा क्षमा पूजा गरी यो पर्व मनाएका हुन् ।

कोरोना महामारीका कारण रथयात्रा स्थगित गरेपछि क्षमापूजा गरेर मुख्य दिनको पर्व मनाइएको छ । कोरोनाबाट बच्न रथयात्रा स्थगित गरिएकाले इन्द्रजात्रासँग सम्बन्धित सबै मठ मन्दिरमा क्षमा पूजा गरी मनाइएको संस्थानले जनाएको छ । विसं १८२३ मा इन्द्रजात्राकै अवसर पारेर गोरखाका राजाले काठमाडौँमा आक्रमण गरेको ऐतिहासिक तथ्य छ । त्यस वर्ष समेत इन्द्रजात्राको रथयात्रा रोकिएको थिएन ।

काठमाडौँ उपत्यकाको मौलिक पर्व इन्द्रजात्राका अवसरमा मङ्गलबार वसन्तपुरस्थित कुमारीघरमा पूजाका सामग्री तयार गर्दै महिला ।भाद्र शुक्ल चतुर्दशीका दिन आज इन्द्रजात्राको मुख्य दिन हो । यस अवसरमा आज काठमाडौँ उपत्यकामा प्राचीनकालदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ । आजैदेखि वसन्तपुर दरबार क्षेत्रमा कुमारी यात्रा शुरु हुने परम्परा थियो । यस वर्ष भने कोरोनाको महामारीका कारण यो परम्परा रोकिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.