मदिरा खाए कोरोना निको हुन्छ भन्ने अफवाह फैलिएपछि…

डोटी– कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ ।

मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ । मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएका कारण पनि चुनौती बढेको हो । यहाँ फैलिएको भ्रम र अन्धविश्वासका कारण गाउँघरमा मदिरा खपत बढेको स्थानीयवासी बताउँछन् ।

कोरोनाबाट जोगिन भन्दै मदिरा नपिउनेहरुले पनि हिजोआज मदिरा पिउन थालेको केआइसिंह गाउँपालिका–६ सेलेनाका स्थानीयवासी रमेशबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “मदिरा पिए कोरोना लाग्दैन भन्ने भ्रम चलाएका कारण गाउँमा मदिरा पिउने बढेका छन्, जसले गर्दा समाजमा अन्य घटनासमेत घट्न थालेका छन् ।” मदिरा नियन्त्रणका लागि यहाँको स्थानीय प्रहरी प्रशासनले थुप्रै प्रयास गरेपनि सफल हुन सकेको छैन ।

डोटीमा स्थानीय प्रशासनले मदिरा बिक्री गर्न इजाजत प्राप्त व्यापारीलाई बेलुकी ४ बजेदेखि ७ बजेसम्म मात्र मदिरा बिक्रीवितरण गर्न पाइने नियम लागु गरेपनि यहाँ अन्य समयमा समेत मदिरा कारोबार भइरहेको पाईएको छ ।

जिल्ला सदरमुकाममा मदिरा व्यवस्थित हुन नसकेपछि जिल्लाको ग्रामीण भेगमा खुलेआम अवैध मदिरा कारोबार हुने गरेको छ । बजारका गोदामबाट दैनिक जसो मदिरा गाउँघरमा बिक्रिवितरणका लागि जाने गरेपनि यहाँको प्रहरी प्रशासनले रोक्नेभन्दा पनि व्यापारीसँगको मिलेमतोमा गाउँ जान दिने गरेको स्थानीयको आरोप छ ।

उता जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रहरी प्रमुख तथा डिएसपी इन्द्रबहादुर मल्लले गाउँमा मदिरा कारोवार तथा बेचबिखन बन्देज गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “अबैध मदिरा कारोवारीलाई कारवाही सुरु गरेका छौँ, बन्द भन्नाले पूर्णरुपमा निर्मूल पार्न सकेका छैनौं, पहिलेभन्दा अहिले मदिरा बेचबिखन नियन्त्रणमा आएको छ, अबैध मदिरा बन्द गर्नमा प्रहरी सक्रिय रुपमा लागेको छ ।”-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.