पूरै मन्त्रिपरिषद् पुनर्गठन हुँदैन : प्रधानमन्त्री
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पूरै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने स्पष्ट पार्नुभएको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले रिक्त मन्त्रालयमा मात्रै मन्त्रीहरु थप गर्ने संकेत गर्नुभयो । ‘बाहिर प्रचारमा आएजस्तो पूरै मन्त्रिपरिषद् पुनर्गठन हुँदैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भन्नुभयो, ‘ढुक्कसँग काम गर्नुहोस् ।’
बैठकमा प्रधानमन्त्री ओलीले अढाई वर्ष अर्थमन्त्री रहनुभएका डा. युवराज खतिवडालाई धन्यवाद दिनुभयो । उहाँले मन्त्रिपरिषद् बाहिर रहेर सहयोग गर्न खतिवडालाई आग्रह गर्नुभएको थियो ।
बैठकमा सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. खतिवडाले आफ्नो कार्यकालको समीक्षा गर्नुभएको थियो । उहाँले अढाई वर्ष अर्थमन्त्री र ६ महिना सञ्चार मन्त्रालयको जिम्मेवारीमा रहेर गरेका कामको विवरण प्रस्तुत गर्नुभएको थियो ।
शुक्रबार नै राष्ट्रिय सभाको रिक्त एक सदस्यमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने चर्चा भए पनि हुन सकेन । उक्त विषय एजेन्डाकोरुपमा प्रवेश नगरेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्