अर्थमन्त्रीद्वारा राजीनामा घोषणा

काठमाडौं– सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले राजीनामा घोषणा गर्नुभएको छ ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकमा खतिवडाले राजीनामा घोषणा गर्नुभएको हो । बैठकमा डा. खतिवडाले आफ्नो कार्यकालको समीक्षा गर्दै राजीनामा दिने घोषणा गर्नुभएको एक मन्त्रीले बताउनुभयो । डा. खतिवडाले अढाई वर्ष अर्थमन्त्री र ६ महिना सञ्चार मन्त्रालयको जिम्मेवारीमा रहेर गरेका कामको विवरण प्रस्तुत गर्नुभएको थियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाको एकमात्र रिक्त सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेपछि डा. खतिवडा शनिबारदेखि स्वतः पदमुक्त हुँदै हुनुहुन्छ । तर, उहाँले स्वतः पदमुक्त हुनुअघि नै शुक्रबार राजीनामा दिने घोषणा गर्नुभएको हो ।

खतिवडा पहिलोपटक २०७४ साल चैत २ गते अर्थमन्त्री नियुक्त हुनुभएको थियो । राष्ट्रिय सभामा गोलाप्रथाबाट दुई वर्षे कार्यकाल निश्चित गर्नुभएका उहाँको पदावधि सकिएकै दिन २०७६ साल फागुन २० गते राजीनामा दिएपछि त्यसको भोलिपल्ट पुनः उहाँ दोस्रो कार्यकालका लागि अर्थमन्त्री नियुक्त हुनुभएको थियो ।

संविधान बमोजिम संघीय सांसद नभएको व्यक्ति ६ महिनामात्रै मन्त्री हुन पाउँछ । त्यसपछि संघीय संसदको सदस्य नियुक्त हुन नसकेको अवस्थामा स्वतः पदमुक्त हुने व्यवस्था छ । लामो रस्साकस्सीपछि पार्टीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने भएपछि तत्कालका लागि डा. खतिवडाको सत्तायात्रा रोकिएको हो ।

मन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामापछि खतिवडाले २०७६ साल फागुन ११ गतेदेखि सरकारको प्रवक्तासहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको थप जिम्मेवारी पाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.