मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने निर्णय
धनुषा- प्रदेश नं २ सरकारले जनकपुरधामको मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने भएको छ । प्रदेश संकट व्यवस्थापन केन्द्र (पिसिएमसी)को आज बसेको बैठकले कोभिड संक्रमितको उपचारका लागि छुट्टै अस्पतालका रुपमा मणिपाललाई तयार गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने कार्य तत्काल शुरु गर्न समितिले भनेको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा कोभिड विशेष अस्पताल बनाउने उपयुक्त स्थान मणिपाल रहेकाले तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभयो ।
प्रदेशमा कोभिड विशेष अस्पताल नहुँदा संक्रमितको उपचारमा समस्या हुँदै आएको छ । संक्रमितको व्यवस्थित तरिकाले उपचार गर्न तत्काल मणिपाललाई कोभिड विशेष अस्पतालका रुपमा परिणत गर्न सबै तयारी अगाडि बढाउनका लागि उहाँले निर्देशन दिनुभएको हो ।
हाल प्रदेशका कोरोना संक्रमितको उपचार प्रादेशिक अस्पताल र जिल्ला अस्पतालमा हुने गरेको छ । त्यो दीर्घकालीन समाधान नरहेकाले तत्काल वैकल्पिक स्थलमध्ये मणिपाललाई कोभिड विशेष अस्पतालका रुपमा परिणत गर्ने निर्णय गरिएको छ ।-
प्रतिक्रिया राख्नुहोस्