श्वाव परीक्षण गर्न धुलिखेल अस्पतालमा स्वचालित ल्याब (भिडियो रिपोर्ट)
संक्रमितको उपचारका लागि अलग्गै भवन
काभ्रे- कोरोना भाइरसको परीक्षण र संक्रमितको उपचारका लागि पछिल्लो समय काभ्रेको धुलिखेल अस्पतालमा निकै चाप बढेको छ । काभ्रे सहित काठमाडौं पूर्वका पहाडी जिल्लाका साथै बारा, पर्सा लगायतका तराईका जिल्लामा संकलित श्वाव धुलिखेलमै परीक्षण हुने गरेकाले यो चाप धान्न अस्पतालले स्वचालित उपकरण जडान गरी श्वाव परीक्षण गर्न थालिएको हो । संक्रमितको उपचारका लागि अस्पतालले अलग्गै भवनसमेत उपलव्ध गराएको छ ।
एक साता अघिसम्म दैनिक करिव चार सय श्वाब परीक्षण हुने धुलिखेल अस्पतालमा अहिले एक हजारभन्दा बढी श्वावको परीक्षण हुन थालेको छ । यसका लागि अस्पतालले श्वावको आरएनए निकाल्न स्वचालित उपकरण जडान गरेको छ । अटोमेटिक न्यूक्लिक एसिड एक्स्ट्याक्टर नामक यो उपकरण भित्रिएपछि अब यहाँ खटिएका नौ जना प्राविधिकले दैनिक १२ देखि १५ सयसम्म श्वाब परीक्षण गरी २४ घण्टाभित्रै नतिजासमेत दिन सक्ने छन् ।
यसका साथै कोभिड उपचारका लागि धुलिखेल अस्पतालले ५० शैयाको अलग्गै अस्पताल बनाएर संक्रमितको उपचार गरिरहेको छ । अलग्गै भवनमा संक्रमित राखिएका कारण यहाँ आउने अन्य रोगका विरामीलाई कोरोना संक्रमणबाट जोगाउन सहज भएको अस्पताल प्रशासनले जनाएको छ ।
लकडाउन सुरु भएदेखि नै कोभिड अस्पतालका रुपमा संक्रमतिको उपचार र परीक्षणमा खटिएका कारण स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पताललाई यो उपकरण उपलव्ध गराएको हो । अस्पातलका संस्थापक तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा.रामकण्ठ माकजू सरकारले सबै अस्पतालसँग सहकार्य गरी परीक्षण र उपचारको दायरा फराकिलो पारेमा अहिलेको महामारी रोकथामका लागि बल मिल्ने तर्क राख्नुहुन्छ ।
धुलिखेल अस्पतालले जस्तै देशभरका सबै अस्पताल र स्वास्थ्य संस्थाले कोरोना महामारी विरुद्धको यो अभियानमा सक्रियता जनाउने हो भने कोरोना संक्रमणबाट हुने मानवीय क्षति रोक्न थोरै भए पनि टेवा पुग्ने थियो ।
प्रतिक्रिया राख्नुहोस्