वाह ! साङ्जेन भ्याली (फोटो फिचर)
रसुवा– यदि कसैले रसुवाको पहिचान के हो भनेर सोध्दा जो कोहिले सजिलै दिने जवाफ हो– लाङटाङ, गोसाइकुण्ड अनि तामाङ सम्पदा मार्ग । तर जिल्लालाई चिनाउने अन्य धेरै पर्यटकीय क्षेत्र छन्, जो अहिले पनि प्रबर्द्धन र प्रचार प्रसारको अभावमा लुकिरहेका छन् ।
रसुवाको आमाछोदिङ्मो गाउँपलिकाले लुकेको पर्यटकीय क्षेत्र साङ्जेन भ्यालीलाई अहिले पर्यटकहरुका लागि नयाँ गन्तब्य बनाउने प्रयासमा जुटेको छ । गाउँपालिका भित्र रहेका नयाँ पर्यटन पदमार्गको पहिचानका लागि ओझेलमा परेको पर्यटकीय उपजहरुको खोजी गर्न रसुवाको आमाछोदिङ्मो गाउँपालिका लागि परेको छ ।
पर्यटन प्रबद्र्धन गराउनका लागि गाउँपालिकाका जनप्रतिनिधिहरु साङ्जेन भ्याली मै पुगेर यस क्षेत्रमा अबलोन गर्न योग्य स्थानहरुको खोजी तथा पहिचानमा जुटेका हुन् ।
गणेश हिमाल र सान्जेन हिमाल नजिकै बाट निहल्न सकिने तथा साङ्जेन हिमाल सँगै रहेको पाल्दोर पिक हिमाल समेत चढ्न सक्ने यहाँको बिशेषता रहेको छ ।
यसैगरि ४७२० मिटरको उचाइमा रहेको डिल्पु कुण्ड र अन्य दुई वटा आकर्षक कुण्ड सहित उच्च स्थानमा चरणका लागि पठार तथा घाँसे मैदान पर्यटकहरुका लागि यहाँको थप आर्कषण रहेको उनीहरुको ठम्याई छ ।
पदयात्रा पर्यटनको लागि रसुवाको उत्तरी क्षेत्र उत्कृष्ट गन्तव्य रहेको र यहाँको प्राकृतिक सुन्दरता, जैविक विविधता र साँस्कृतिक विविधताले पर्यटकलाई विशेष आकर्षण गर्न सक्ने भएकाले यसले गाउँपालिकालाई आर्थिक विकासमा टेवा पुग्ने हुँदा गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका पर्यटकीय गन्तब्यको खोजी गर्दै आवश्यक पूर्वाधारहरुको विकास तर्फ अगाडि बढेको आमाछोदिङ्मो गाँउपलिकाका अध्यक्ष बुचुङ तामाङ बताउनुहुन्छ ।
‘आमाछोदिङ्मो गाउँपालिकाको सान : साङ्जेन भ्याली पर्यटन प्रबर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ चालु आर्थिक बर्ष ०७७/७८ को गाउँ कार्यपालिकाको पहिलो बैठक समेत साङ्जेन भ्यालीमा मै सम्पन्न गरेका छन् ।
पर्यटन प्रबर्द्धनका लागी साङ्जेन भ्यालीलाई पर्यटन पदमार्ग विस्तार गर्दै गाउँपालिका भित्र रहेका प्रबर्द्धन र प्रचार प्रसारको अभावमा लुकिरहेका सम्भावित स्थलहरुको खोजी गर्दै विस्तृत अध्ययन प्रतिबेदन डीपीआर तयार गर्दै जाने जनप्रतिनिधिहरुको भनाइ छ ।
आमाछोदिङ्मो गाउँपालिकामा पर्ने साङ्जेन भ्याली चिनसँगको सिमानामा पर्दछ । तातोपानी देखि साङ्न्जेन भ्याली सम्म पुग्न करिब ७ घण्टा पैदल हिड्नु पर्दछ भने साङ्जेनबाट धादिङ जिल्ला तर्फ समेत जान सकिन्छ ।
प्रतिक्रिया राख्नुहोस्